नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा कांग्रेस–माओवादी र माधव नेपाल पक्षले गठबन्धन गरेका छन् । 

कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धन बने पनि अधिकांश पदमा युनियनका उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस–माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ ।

युनियनकै रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षको इतिहास रच्ने घोषणा गर्दै प्रेस चौतारीको तर्फबाट उम्मेदवार बनेकी छन् ।

प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी वरिष्ठ उपाध्यक्षमा माधव नेपाल उम्मेदवार बनेका छन् । उनी प्रेस चौतारीको पनि वरिष्ठ उपाध्यक्ष हुन् ।

त्यस्तै महिला उपाध्यक्षमा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।