विराटनगर। ट्याङकरबाटै नेपालबाट भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणमा डिजेल बरामद भएपछि ढुवानीकर्ता र पेट्रोलपम्पलाई पनि कारबाहीको दायरामा ल्याइने भएको छ ।
भारततिर तस्करी हुन लागेको २ हजार ६ सय ६० लिटर डिजेल बरामद भएपछि नेपाल आयल निगमले ढुवानीकर्ता र तस्करी गर्न तेल भर्ने पेट्रोलपम्पलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको हो ।
मोटरसाइकल र साइकलको प्रयोग गरी भारततिर तस्करी हुँदै आएको इन्धन २९ फागुनमा ट्याङ्करबाटै तस्करी हुने गरेको खुलेको थियो । को.१ ख ५९१२ नम्बरको ट्याङ्कर ढुवानीकर्ता चरणप्रित सिंहको रहेको खुलेको छ । नेपाल आयल निगमको प्रदेश नम्बर १ को कार्यालयका प्रमुख नकुल भण्डारीका अनुसार २९ फागुनमा को.१ ख ५९१२ नम्बरको ट्याङ्करलाई निगमको डिपोमा लक गर्न ल्याइएको थियो ।
निगमका कर्मचारीले लक गर्नुभन्दा अगाडि ट्याङ्कर चेकजाँच गर्दा एक च्याम्बरमा डिजेल फेला परेको थियो । कुनै पनि रित्तो ट्याङ्करलाई पेट्रोलियम ढुवानी गर्न भारतको बरौनी वा सिलिगुडी पठाउँदा ट्याङ्करका चारवटै च्याम्बरको परीक्षण गरेर लक लगाएर मात्र पठाउने गरिन्छ ।
त्यही ट्याङ्करले सोही दिन सिलिगुडीबाट २० हजार लिटर पेट्रोल ल्याएर बेलबारी, विराटचौक र सुनसरीको तरहराको पेट्रोल पम्पहरूमा दिएको थियो । भारततिर इन्धन तस्करी हुन लागेको डिजेल बरामद भएकोले ढुवानीकर्ता र डिजेल भर्ने पेट्रोलपम्पलाई पनि कारबाहीको दायरामा ल्याउने तयारी अगाडि बढाएको कार्यालय प्रमुख भण्डारीले बताए ।
‘अहिले राजस्व कार्यालय इटहरीले अनुसन्धान गर्दैछ । हामीले राजस्वको निर्णय पर्खिरहेका छौं । यस घटनामा निगमले पनि छुट्टै कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ’ उनले भने, ‘निगमको विनियमअनुसार बदमासी गर्ने ढुवानीकर्तालाई ३ देखि ६ महिना आपूर्ति बन्द गर्न सक्नेसम्मको अधिकार छ । त्यही विनियमअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’
उनका अनुसार तस्करी गर्न डिजेल भर्ने पेट्रोलपम्प अहिले खुलिनसकेकोले यस विषयमा पनि अनुसन्धान भइरहेको छ । ‘सर्सर्ती हेर्दा ट्याङ्करले डिपोमा पेट्रोल खाली गरेपछि कुनै पेट्रोलपम्पमा गएर डिजेल भराएको देखिन्छ’ भण्डारीले भने, ‘तर, कुन पम्पमा उनीहरूले डिजेल भरेका हुन् भन्ने स्पष्ट भइसकेको छैन । किनभने गलत तरिकाले डिजेल भर्ने पम्प पनि कारबाहीमा आउनु पर्छ भन्ने हाम्रो ठहर छ । तर, चालक र सह–चालकले कहाँ डिजेल भरेको भन्ने स्पष्ट बताइरहेका छैनन् ।’
राजस्व अनुसन्धान स्रोतले दिएको जानकारीअनुसार पक्राउ परेका ट्याङ्कर तथा चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयानअनुसार उक्त ट्याङ्करमा मोरङको बूढीगङ्गा गाउँपालिका–४ निमुवास्थित नितेश ट्रेड नामको पम्प चलाउने व्यवसायी महेशकुमार अग्रवालले डिजेल भरिदिएका थिए ।
उनको विराटनगर बजारमा पूर्वाञ्चल आयल नामको पम्प सञ्चालनमा छ । उनले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजेल भरेको स्रोतको दाबी छ । तस्करी गर्न डिजेल भर्ने पेट्रोल पम्पलाई निगमको विनियम अनुसार १ लाख रुपैयाँ जरिबानादेखि ६ महिनासम्म निलम्बन गर्नसक्ने प्रावधान रहेको छ । नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २५ रुपैयाँले महँगो छ ।
मूल्यमा भएको यही अन्तरको फाइदा उठाउन डिजेलको तस्करी गरिएको हो । भारतमा पेट्रोल १ सय ५५ रुपैयाँ प्रतिलिटरसम्म पर्छ । नेपालमा भने पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ छ । डिजेल नेपालमा ९९ रुपैयाँ प्रतिलिटर छ भने भारतमा १ सय २५ रुपैयाँ प्रतिलिटर रहेको छ । ‘भारतमा महँगोमा बेच्नका लागि चोरी गरी लैजाँदारहेछन्’ आयल निगमका एक अधिकारीले भने, ‘नेपालको तुलनामा भारतमा इन्धन धेरै महँगो छ । त्यही भएर तस्करी हुने गरेको हो ।’ २९ फागुनमा तस्करी हुन लागेको बेला बरामद भएको इन्धन भारत पु¥याउँदा करिब ६५ हजार रुपैयाँ तस्करीमा लागेका गिरोहलाई फाइदा हुने भएको थियो ।