झापाको झिलझिलेमा ‘वाटर किङ्डम पार्क’ सञ्चालनमा आएको छ । 

स्थानीय व्यबसायी राजकुमार संग्रौलाको लगानीमा पार्क सञ्चालनमा आएको हो ।

मनोरञ्जनका लागि आउने पर्यटकका लागि पार्कले टिकट खुल्ला गरेर सञ्चालनमा ल्याएको कार्यकारी निर्देशक संग्रौलाले बताए । 

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने ८ प्रकारका खेल छन् । संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड सञ्चालन शुरु भएको हो

बच्चाहरूका लागि किड्स जोन र सिक्स्पा पार्क वाटर किङ्डम पार्कका मुख्य आकर्षण हुन् । बुढापाकाका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । 

पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा छ । गुफा नदेखेकाहरुको यसले मन जितेको छ ।

पार्कभित्र भेज र ननभेजका फरक–फरक होटल सञ्चालनमा छन् । यस्तै, आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा सम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण भएको छ । 

‘एउटा भवनमा पार्टी प्यालेस सञ्चालन हुन्छ भने अर्को भवनमा आगन्तुक पाहुनाको आवास हुन्छ,’ सञ्चालक संग्रौलाले भने । 

पूर्व घुम्न आउने पर्यटकका लागि शिवसताक्षी नगरको ‘वाटर किङ्डम पार्क’ उत्कृष्ट गन्तव्य बन्नेमा संग्रौला आशावादी छन् ।

शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलहरू सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा पार्कभित्रका वालहरूमा देख्न पाइन्छ । 

विभिन्न जातजातिका झाँकीहरू पनि पार्कभित्र आउने सर्वसाधारणले सहजै देख्न सक्नेछन् । 

४२ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वका पर्यटकीयस्थल इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका स्थानहरुमा प्याकेजमा भ्रमण गराउने संग्रौलाले बताए । 

उनले भने, ‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पु¥याएर मनोरञ्जन दिलाइने छ ।’ यसका अलावा भारतका कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाउँ पनि प्याकेजमा घुमाउने योजना पार्कले ल्याएको छ ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला बढ्दो छ । सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरू आउन थालेका छन् । 

उद्घाटन भइनसक्दै आन्तरिक पर्यटकको घुइँचो बढेको पार्क सञ्चालकले जनाएका छन् ।