धरान । यसपटकको एसईई परीक्षा र कक्षा १२ को एसएलसी परीक्षा जेठभित्र सक्ने गरी तयारी थाल्न राष्ट्रिय परीक्षा बोर्डलाई शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशनपछि एक साताको फरकमा एसईई र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी बोर्डले आन्तरिक तयारी सुरु गरेको जनाएको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को माघ २६ गतेको बैठकले माध्यमिक शिक्षा परीक्षा सञ्चालन र व्यवस्थापन तथा शिक्षा नियमावली संशोधनको निर्णय कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले फागुन ५ गते बोर्डलाई निर्देशन दिने निर्णय गरेको थियो ।

लगत्तै मन्त्रालयले फागुन ६ गते बोर्डलाई निर्णय कार्यान्वयनका लागि पत्र लेख्दै एसईई परीक्षा सञ्चालन र व्यवस्थापन, विद्यार्थीले चाहेकै विद्यालयबाट परीक्षा दिन पाउने साथै बैशाखभित्र पढाइ सकेर जेठभित्रमा परीक्षा सञ्चालन गरिसक्न बोर्डलाई निर्देशन दिएको थियो ।

विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो । एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ ।