धरान । धरानको रङ्गभूमि एकेडेमीले ‘प्रतिगमन’ नामक सडक नाटक धरानका दुई स्थानमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते चालेको असंवैधानिक कदमप्रति लक्षित गर्दै पन्ध्र मिनेटको सडक नाटक प्रदर्शन गरिएको हो । विष्णु मोक्तानको निर्देशनमा बनेको नाटकले ‘शक्तिको आडमा कानुन व्यवस्थाको दुरूपयोग गरिएको कुरालाई’ नाटकले दृश्याङ्कन गरेको छ । संवादविहीन नाटकले दृष्यमार्फत् नै लामो सङ्घर्षपछि ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ लाग्न सन्देश दिइएको छ । 

नाटकमा हरि इवाहाङ, मिलन चाम्लिङ, करिष्मा क्षेत्री, निश्चल कुलुङ, गोमा पौडेल, कृति लिम्बू, अभिषेक खतिवडा, मिलन भुजेल, शुस्मा राई र महेश राईको अभिन छ । निर्देशक मोक्तानले फेरि फेरि अधिकारका लागि लड्ने स्थिति सिर्जना भएकाले कलाकारहरू पनि युग परिवर्तनका संवाहक शक्ति भएको सन्देश दिन नाटक प्रदर्शन गरिएको बताए ।

‘हामी यो, ऊ भन्ने पक्षमा भन्दा पनि गणतन्त्र गुम्ने खतरा भएकाले त्यसलाई लक्षित गर्दै नाटक प्रदर्शन गरिएको हो’ उनले भने । धरान–१७ को रेल्वे र धरान–११ को मंगलबारेमा नाटक प्रदर्शन गरियो भने नाटकको अन्तिम समापन धरानको भानुचौकमा गरिने भएको छ ।