झापा । झापाकाे बिर्तामोड–२ स्थित चारपानेको श्रीविवेकाश्रम तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालयको  ५० औं वार्षिकोत्सव तथा स्वर्णजयन्तीको शुक्रबार उद्घाटन भएको छ । 

समारोहमा ज्योति शास्त्र अनुसार हेलिकेप्टरद्धारा शास्त्रीय परम्परा अनुसार पुष्पवृष्टि गरेर उद्घाटन गरिएको थियो । सातौदिनसम्म हुने स्वर्ण महोत्सव तथा बार्षिकोत्सव देवगाट धामका ईश्वरानन्द महाराजले उद्घाटन गरेका छन् ।

श्री विवेकाश्रम तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालयका धर्मगुरु व्यासाचार्य किशोर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, प्रहरी प्रमुख सानुराम भट्टराई, संविधानसभा सदस्य मनकुमार गौतम, सहारा नेपाल चारपानेका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, बिर्तामोड नगरपालिका प्रमुख ध्रुबकुमार शिवाकोटी, बिर्तामोडन गरपालिका –२ का अध्यक्ष नगेन्द्र संग्रौलालगायत विभिन्न स्थानबाट आएका धार्मिक व्यक्तित्व तथा भक्तजनहरुको  उपस्थिति रहेको  थियो ।  

स्वर्ण जयन्तीका अवसरमा धान्यपर्वत, गणेश पुराण पाठ, महारुद्राभिषेक, मन्त्रहरुको जप साथै सत्संग समारोह सातौदिनसम्म हुने बिद्यालयका अध्यक्ष धर्मगुरु व्यासाचार्य गौतमले बताए । धर्मगुरु व्यासाचार्य गौतम र  छन्दुराम भण्डारीले कथा बाचन गर्नेछन् ।  

कलस यात्रापछि स्वस्ती वाचनसहित दीपप्रज्वलन गरेर समारोह उद्घाटन गरिएको थियो ।  समारोहलाई सम्पन्न गर्नका लागि २०/२१ वटा उपसमितिहरु गठन गरिएको जनाइएको छ । कार्यक्रम फागुन ७ गते सम्पन्न हुने छ । रुपन्देही, पाल्पा, पोखरा, चितवनसहित भारतका बिभिन्न राज्यबाट भक्तजनहरु आउने बताइएको छ ।