धरान। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिबाट कोभिडविरूद्धको “कोभिसिल्ड” खोप लगाइने भएको छ ।

नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी अनुसार नै भोलिबाट प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारी लगायतहरूलाई खोप लगाइने प्रतिष्ठानका सहप्रवक्ता डा। चुडामणी पोखरेलले जानकारी गराए ।

कोभिड विरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत सबै स्वाथ्यकर्मीहरू, स्थानिय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई खोप लगाउनका लागी नेपाल सरकारबाट निर्देशन आएको छ । यस्तै, शव व्यवस्थापनमा खटिएका कर्मचारी, अस्पताल र स्वास्थ्य संस्थाका सहयोगी कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वंयमसेवीका, अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरूमा समेत खोप लगाउनका लागी निर्देशन आएकोले त्यसै अनुसार खोप लागाइने भएको छ ।

सहप्रवक्ता पोखरेलले भने, खोपका लागी आइएमयु नेपाल एपबाट नाम दर्ता गराएका प्रतिष्ठानका स्वास्थकर्मी तथा कर्मचारीहरूमा भोली विहान साढे १० बजेबाट पेइङ वार्ड २ मा खोप लगाउने कार्य सुरू गरीनेछ ।

के हो कोभिसिल्ड खोप ?

कोभिसिल्ड खोप बेलायतको अक्सफोर्ड विश्वविध्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरी भारतको सिरम इन्स्टिच्युटले तयार गरेको हो । सहप्रवक्ता पोखरेलले भने, यस खोप अन्य विभिन्न राष्ट्रहरूमा गरीएको परिक्षणमा ९० प्रतिशत सम्म प्रभावकारी भएको पाइएको छ । यसले शरिरमा कोभिड विरूद्धको एन्टिबडी निर्माण गरी कोभिड लाग्नबाट बचाउनेछ ।