धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाउस अफिसर र डेन्टल सर्जनहरु फेरि आन्दोलनमा उत्रिएका छन् ।

प्रतिष्ठानसँग पटक पटक आन्दोलन र सहमती गर्दा पनि सरकारले तोके अनुसारको तलब नपाएको भन्दै उनीहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको आन्दोलन आज सोमबार पनि जारी छ ।

सरकारले तोकेभन्दा अत्यन्तै न्यून तलब दिइएकाले वृद्धि गर्नु पर्ने उनीहरुका माग छ । सरकारले कोरोनाको महामारीमा खट्ने चिकित्सकलाई जोखिम भत्ता दिने भनेपनि प्रतिष्ठानका हाउस अफिसरहरुले अहिलेसम्म नपाएको, काम भने सरकारले तोकेभन्दा बढी गर्नु पर्ने अवश्था रहेकाले फेरि आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ ।

प्रतिष्ठानको उपकुलपति कार्यालय अगाडी धर्नामा बसेका उनीहरुले आकस्मिक बाहेकमा काम बहिस्कार गरेका छन् । प्रतिष्ठानले आफ्ना माग पुरा नगरे बुधवार देखि इमरजेन्सी वार्डको ड्युटी समेत बहिस्कार गर्ने उनीहरुको भनाई छ । उनीहरुले यसपटक माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।