विराटनगर । नेपाल चिकित्सक संघ कोशी विराटनगरको नयाँ नेतृत्व चयन गर्न मतदान सुरू भएको छ । 

विराटनगरस्थित संघको भवनमा आइतबार विहान साढे १० बजेदेखि  मतदान सुरू भएको छ । भोली सोमबार साँझ सम्म मतदान गर्ने समय रहेको निर्वाचन अधिकृत डा. रवि बास्तकोटीले जानकारी दिए । संघमा १ हजार २ सय ८१ जना चिकित्सक मतदाता छन् । सुनसरीको धरानबाहेक कोशीका सबै चिकित्सकहरुले मतदानमा सहभागीता जनाउने बुझिएको छ । 

धरानको बीपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक संघ रहेको छ ।

भोली रातीसम्म नतिजा सार्वजानिक हुने निर्वाचन कार्यालयले तयारी गरेको छ । 

संघको निर्वाचनमा डा.कैलाश श्रेष्ठ र डा.फरवर्ड सिलवालको समूह चुनावी मैदानमा उत्रिएको छ । डा.सिलवाल संघका वर्तमान अध्यक्ष हुन् भने डा.श्रेष्ठलाई सबैले मान्ने अग्रज चिकित्सकको रूपमा हेरिएको छ ।

संघको नेतृत्वको लागि गत मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता गराएका थिए । 

डा.श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.सन्जिव ठाकुर, उपाध्यक्षमा डा.बालकृष्ण साह, महासचिबमा डा.रबिनराज सिंह, सह–सचिबमा डा.धिरज सिंह, कोषाध्यक्षमा डा.सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा.सरबेसकुमार झा छन् । यस्तै सोही समूहदेखि सदस्यहरुमा डा.रोशन खड्का, डा.पल्बी झा, डा.अविशेष चौधरी, डा.दिपक न्यौपाने, डा.निशा अधिकारी र डा.राजेश्वर यादव छन् । 

यता सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.नविन कर्ण, उपाध्यक्षमा डा.यज्ञराज खरेल, महासचिबमा डा.राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा.सिलवन्त सेन श्रीवास्तव, सहसचिबमा डा.सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा.जुबिन सिलवाल उम्मेदवार छन् । सदस्यहरुमा डा.अन्जु देव, डा.अमरकुमार यादव, डा.पार्थ गुरागाईं, डा.अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपाल मैदानमा छन् ।