धनकुटा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाको बरख गण सल्लेरी धनकुटाले साँगुरीगढी देखि धारापानी हँुदै फेदिसम्म सोमवार बृहत पद यात्राको आयोजना गरेको छ ।  

नेपालको आन्तरिक पर्यटन र इतिहासलाई प्रबद्र्धन गर्ने कार्य अन्तर्गत एकीकरणका पदमार्गहरु, गढि (यक) हरुको संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यले बृहत पद यात्राको आयोजना गरेको बरख गण सल्लेरी धनकुटाका गणपति भगवान थापा मगरले जानकारी दिए । 

पदयात्राको  सुरुवातमा पुर्वि पृतनापति उपरथि सन्तोष कुमार ढकालले रिबन काटेर उद्धघाटन गरेका थिए । बृहत पदयात्रामा धनकुटा र सुनसरीका गरी दुई सय बढि विभिन्न सरोकारवालाहरु, पर्यटन व्यवसायी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । पदयात्रामा धनकुटाबाट साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंङ्ग याखा, सहकारी अभियन्ता सुन्दरवावु श्रेष्ठ, प्राध्यापक जनार्दन गोठाले लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

त्यसैगरी धरानवाट पनि विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो । वि.सं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुक भित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका स–साना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेको भन्ने इतिहास रहेको छ ।  

उनकै सम्झना स्वरुप २९९ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस धनकुटामा विविध कार्यक्रम गरि मनाइएको छ  । नेपाल एकीरणका प्रणेता शाहको स्मरणमा हरेक पौष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ ।