विराटनगर/ मोरङको मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यापछि यस क्षेत्रमा प्रहरीले संयुक्त रूपमा अप्रेसन बेस क्याम्प परिचालन गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा अप्रेसन बेस क्याम्प राखेर मिक्लाजुङको उत्तरी क्षेत्रमा सुरक्षा फौज बढाएको हो ।

२४ मङ्सिरमा मिक्लाजुङ–१ बर्खेस्थित घरबाटै प्रअ श्रेष्ठलाई नेत्रविक्रम चन्द विप्लव समूहका ६ जना कार्यकर्ताले दुवै हात बाँधेर अपहण गरी नजिकको जङ्गलमा लगेर बर्बरतापूर्वक हत्या गरेका थिए । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमितेलगायत क्षेत्र र छिमेकी जिल्लाको सीमा नाका सिल गरी प्रहरीले सर्च अभियान चलाएको थियो । प्रहरीले सर्च अभियान सञ्चालन गरे पनि प्रअ श्रेष्ठको हत्या भएको पाँच दिन बितिसक्दा पनि हत्यामा संलग्न पक्राउ परेका छैनन् ।

श्रेष्ठको हत्यालगत्तै मिक्लाजुङ–१ स्थित आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अप्रेसन बेस क्याम्प राखेर सरक्षाकर्मीको चहल–पहल बढाएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा अहिले अप्रेसन बेस क्याम्पमा टोली परिचालन भएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘अहिले मिक्लाजुङको उत्तरी क्षेत्रमा अप्रेसन बेस क्याम्प राखेर सुरक्षाकर्मीले गस्ती बढाएको छ’ एसपी खड्काले भने, ‘त्यहाँका स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउन र हत्यामा संलग्नहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ ।’

प्रहरी निरीक्षक सुमन बुढाथोकीको नेतृत्वमा ३६ सशस्त्र र प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा १५ नेपाल प्रहरी गरेर ५१ जनाको टोली अप्रेसन बेस क्याम्पमा परिचालित छन् । प्रअ श्रेष्ठको हत्यालगत्तै घटनामा संलग्नलाई पक्राउ गर्न सर्च अभियानमा मोरङ प्रहरीका डिएसपी लोकदर्शन थापाको नेतृत्वमा ६० जनाको टोली परिचालन भएको थियो । डिएसपी थापाको नेतृत्वमा टोली आएपछि इन्स्पेक्टर थापाको नेतृत्वको टोली अहिले अप्रेसन बेस क्याम्पमा गएको हो । आपतकालीन अवस्थामा परिचालन गर्न मिल्नेगरी थप ‘रिजर्व फोर्स’ पनि तयारी अवस्थामा रहेको मोरङ प्रहरीले जनाएको छ ।

आइतबारेमा बेस क्याम्प बस्ने
प्रधानाध्यापक श्रेष्ठको हत्यापछि मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा सरकारले सुरक्षा बेस क्याम्प मिक्लाजुङ राख्ने भएको छ । प्रअ श्रेष्ठको हत्यालगत्तै जिल्ला सुरक्षा समितिको बैठकले मिक्लाजुङ–१ स्थित आइतबारेमा सुरक्षा बेस क्याम्प राख्ने निर्णाय गरी स्वीकृतिको लागि गृह मन्त्रालयमा पत्र पठाएको छ ।

स्वीकृत भएर आएलगत्तै मिक्लाजुङको उत्तरी क्षेत्रलाई लक्षित गरी प्रहरीको बेस क्याम्प रहनेछ । मिक्लाजुङको उत्तरी भेगको सुरक्षा व्यवस्था मिलाउने गरी अहिले अप्रेसन बेस क्याम्प मात्र भएको एसपी खड्काले बताए । ‘सुरक्षा बेस क्याम्पको लागि स्वीकृति आउन बाँकी छ’ एसपी खड्काले भने, ‘गृहबाट स्वीकृत भएर आएपछि बेस क्याम्प रहनेछ । अहिलेको अप्रेसन सुरक्षा बेस क्याम्प हो ।’

जिल्ला सुरक्षा समितिले मिक्लाजुङ–१ आइतबारेस्थित गरिबी निवारण कोषको भवनमा सुरक्षा बेस क्याम्प राख्न सिफारिस गरेर पठाएको छ । भवनमा हलसहित दुईवटा मात्रै कोठा भएका कारण सुरक्षाकर्मीलाई बस्न र कारबाही सञ्चालन गर्न मुस्किल पर्ने अवस्था रहेको वडाध्यक्ष नरबहादुर राईले बताए । स्थानीय बासिन्दाले मिक्लाजुङ आसपासका क्षेत्रमा लामो समयदेखि नेपाल र सशस्त्र प्रहरीको स्थायी पोष्टको माग गर्दै आएका थिए ।

मिक्लाजुङ गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन नसक्दा निरीह र निहत्था शिक्षकको हत्या भएको बताए । गाउँपालिकाले अस्थायी बेसमा परिचालित सुरक्षाकर्मीलाई बस्ने ठाउँको व्यवस्था गर्दै आवश्यक सामग्री प्रदान गरेको उनले बताए । मिक्लाजुङमा तत्काल खड्किएको सुरक्षाको आवश्यकता परिपूर्ति गर्न नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।