धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । नगरका हरेक घरलाई उज्यालो बनाउँने उद्धेश्यले नगरपालिकाले चालु आर्थिक बर्षदेखि यो अभियान सुरु गरेको हो ।

महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई शुक्रबार सोलार वितरण गरेर अभियान सुरु गरिएको छ । अभियान उद्घाटनका अवसरमा धनकुटाबाट संघिय सांसदमा प्रतिनिधित्व गर्नु हुने यूवा नेता राजेन्द्र कुमार राईको प्रमुख आतित्थ्यमा चानुवाका पाँच परिवारलाई हरेक घरमा चार/चार वटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार सिस्टम वितरण गरिएकोे हो ।

बिपन्न तथा भौगोलिक बिकटताका कारण बिजुली बत्तीको पहुँचमा नपुगेका चानुवाका कर्णबहादुर खड्का, सलबहादुर विश्वकर्मा, गोपाल छाला, पुष्पराज अधिकारी र मोहन अधिकारीको परिवारलाई सोलार वितरण गरिएको हो ।

चानुवामा आयोजित सोलार वितरण कार्यक्रममा संघीय सांसद राजेन्द्र राई, प्रदेश सांसद ईन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान र महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले उनीहरुलाई सोलार सिस्टम हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै सोलार वितरण कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद राजेन्द्र कुमरा राईले आर्थिक अभाव र भौगोलिक विकटताका कारण बिजुली बत्ती बाल्न नपाएका बिपन्न परिवारलाई लक्षित गरी महालक्ष्मी नगरका हरेक घर उज्यालो बनाउँने उद्धेश्यले उज्यालो नगर अभियान सुरु गरिएको बताए ।

‘अहिले पनि गाउँ–गाउँका केही घरमा बत्ती छैन । बत्ति नहुँदा टुकी बालेर दैनिकी चलाउँनुपर्ने बाध्यता छ ।’ संघिय सांसद राईले भने–‘आर्थिक अभाव र भौगोलिक विकटताका कारण कुनैपनि परिवार उज्यालोबाट बञ्चित नहुन् भनेर निःशुल्क सोलार सिस्टम वितरण गर्ने अभियान सुरु गरिएको हो ।’

सो अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले आफुले पनि विगतमा बिजुली नहुँदा टुकी र सल्लो बालेर पढेको स्मरण गर्दै भने–अब कोही पनि नगरबासीले यस्तो अवस्था झेल्नु नपरोस् भनेर सोलार वितरण अभियान थालिएको बताए ।

चानुवाबाट सुरु गरिएको यो अभियान नगरका सबै वडामा सञ्चालन गरिनेछ । बत्ती बाल्न नपाएका बिपन्न परिवारहरुबाट निवेदन संकलन गरी त्यस्ता परिवारको पहिचान गरेर सोलार सिस्टम वितरण गरिने नगर प्रमुख नेपालले जानकारी दिएका हुन् ।