पथरीशनिश्चरे/मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक नगरका कर्मचारी र स्वास्थ्य कर्मचारी सहित थप ९ जनामा कोरोना भाइरस देखिएको छ ।

प्रदेश कोभिड प्रयोगशालामा गरिएको ५० जनाको परीक्षणमा आज ८ पुरुष र १ महिला सहित ९ जनाको रिपोर्ट पोजेटिभ आएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । जसमा वडा नम्वर १ का ३ पुरुष र १ महिला, २ का १ पुरुष, ३ का १ पुरुष, ७ का १ पुरुष र ९ का २ पुरुषमा कोरोना देखिएको हो ।

यस अघि नगर र स्वास्थ्यका कर्मचारी सहित समुदायका संक्रमितको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’का आधारमा पीसीआर परीक्षणका लागि गत कार्तिक १ गते १ सय ६४ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १ सय १४ जनाको कोशी अस्पताल विराटनगरबाट परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले नगरमा कोरोना संक्रमित बढ्दै गएकाले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध दोहोर्याएका छन् । उनले अनिवार्यरुपमा कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सेनिटाइजर लगाउन थप अनुरोध गरेका छन् । १२ बर्ष मुनीका बालबालिका र ज्येष्ठहरुलाई थप सतर्क बन्न समेत अनुरोध छ ।

गत असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म नगरपालिका र वडा कार्यालयको प्रशासनिक सेवा बन्द गरिएको छ । नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र वडा नम्वर १ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सेवा पनि बन्द अवस्थामा छ । कोरोना संक्रमणका कारण वडा नम्वर १ स्थित मोरङ अस्पतालका सञ्चालक रामकाजी थापाको निधन समेत भएको छ ।