धरान । धरान–८ सहिदरत्न मार्गका ६८ वर्षीय कोरोना संक्रमति वृद्धको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत वृद्ध आफैले ‘होम आइसोलेसन’ मा बस्ने जिद्दी गरेपछि घर ल्याइएको थियो । उनको आइतबार अपरान्ह करिब २ बजेतिर निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

मृतकमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइन्छ । उच्च रक्तचाप बढेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको लागि लगेको बेला कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको घरपरिवारका सदस्यहरूलाई अन्यको सम्पर्कमा नजानका लागि वडा कार्यालयले आग्रह गरेको छ ।

धरानमा बेड अभावमा भर्ना नभएपछि धरान १५ की एक वृद्धाको ज्यान गएको थियो । हालसम्म धरानमा २९ जनाको ज्यान गइसकेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

एन्फा क्वारेन्टिनमा शुक्रबार र शनिबार लिइएको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आएको हो । शुक्रबार २५६ जनाको स्वाब संकलन गर्दा शनिबार १९ जनाको मात्रै स्वाब लिइएको थियो । धरानमा मात्रै कुल संक्रमितको संख्या १ हजार ९२८ पुगेको छ ।