धरान । होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको अब परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने गरी सरकारले मापदण्ड परिमार्जन गरेको छ ।

घरको होम आइसोलेसनमा मृत्यु भएकाहरूलाई परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने गरी मापदण्ड परिमार्जन गरेको हो । यसअघि नेपाली सेनाको टोलीले शवको व्यवस्थापन गर्दै आएको थियो ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि–२०७७’ दोस्रो संशोधन गर्दै उक्त निर्णय गरेको हो । घरमा मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै सरकारले परिवारलाई नै जिम्मेवारी सुम्पिने गरी मापदण्ड तयार गरेको हो ।

यो मापदण्डले होम आइसोलेसनमा बसेकाहरूको हकमा भने अन्याय भएको महसुस गरेका हुन् । घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय जनप्रतिनिधि तथा प्रहरीलाई खबर गर्नुपर्ने नियम बनाएको छ । परिवार तथा अन्तिम संस्कारमा सहभागी हुनेले सजगता अपनाई शवको व्यवस्थापन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।