धरान । बलिउडका अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन् । ६१ वर्षीय दत्तले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक भिडियो सन्देश प्रवाह गर्दै क्यान्सरलाई चाँडै नै परास्त गर्ने दाबी समेत गरे ।

केही समय यतादेखि उनलाई क्यान्सर भएको अनुमानसहितका समाचारहरू बाहिर आएका थिए । तर, हालै आएर दत्त स्वयम्ले पुष्टि गरेका हुन् । हालसम्म १५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले आगामी नोभेम्बरदेखि नयाँ फिल्ममा खेल्न लागेका छन् ।

उनलाई गत अगस्टमा श्वास फेर्न समस्या भएपछि कोभिड १९ को परीक्षण गरिए पनि कोरोना देखिएको थिएन । त्यसपछि मुम्बईस्थित एक अस्पतालमा परीक्षण गरिएको थियो । उनलाई फोक्सोको क्यान्सर भएको समाचारहरू अपुष्ट रूपमा आए पनि यकिन हुन सकेको थिएन ।

दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गर्दै आफ्ना फ्यानहरूलाई चिन्ता नलिनका लागि आग्रह गरिएको थियो । उनले आफूले चाँडै नै क्यान्सरलाई पराजित गरेर बाहिर आउने समेत फ्यानहरूलाई बताएका छन् ।

उनी केही समय जेल समेत परेका थिए । सन् २०१३ मा पाँच वर्षसम्म जेल जीवन व्यतीत गरेका उनको त्यो कालमा फिल्मी क्षेत्रबाट अलग भएका थिए । सन् १९९३ मा मुम्बईमा भएको विस्फोटन र बन्दुकसम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गरिएको थियो । उक्त घटनामा २५७ नागरिकको ज्यान गएको थियो भने ७१३ जना घाइते बनेका थिए ।

यो घटना भारतीयका लागि निकै खतरापूर्ण घटनाको रूपमा लिइन्छ । उनी सन् २०१६ मा जेलमुक्त बनेका थिए । त्यसयता उनी फिल्म नगरीमै फर्किएका छन् । उनको जीवनीमा आधारित फिल्म निकै चर्चामा रहेको थियो । उनको पहिलो पत्नी ऋचा शर्माको सन् १९९६ मा क्यान्सरकै कारण ज्यान गएको थियो । त्यस्तै आमा नरगिसको पनि सन् १९८१ मा क्यान्सरबाटै ज्यान गएको थियो । उनी सन् १९८१ देखि नै फिल्म उद्योगमा प्रवेश गरेका थिए ।