धरान । बंगलादेश सरकारले अबदेखि बलात्कारीलाई मृत्युदण्ड दिने सजायको व्यवस्था गरेको छ ।

बंगलादेशको पत्रिका द डेल्लीस्टारका अनुसार मृत्युदण्डको सजाय दिने गरी कानून संशोधन गरिएको हो ।

बंगलादेशमा मृत्युदण्डको माग गर्दै लामो सयमदेखि विरोध तथा प्रदर्शन हुँदै आएको थियो । अधिकारवादी संस्थाहरूका अनुसार बंगलादेशमा गत वर्ष मात्रै ५ हजार ४ सय जना बलात्कारको शिकारमा परेका थिए ।

सरकारले कानून संशोधन गरेलगत्तै मानव अधिकारवादी संस्थाहरूले ‘अधिकार प्राप्त गरेको’ संज्ञा दिएका छन् ।

कानून मन्त्री अनिसुल हकले सञ्चार माध्यमलाई जानकारी दिँदै संशोधित कानून राष्ट्रपतिबाट मङ्गलबार जारी भएपछि तत्काल लागू हुने बताए । बंगलादेशमा गत साता मात्रै एक महिला सामूहिक बलात्कारको शिकारमा परेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

उक्त घटनालाई लिएर देशव्यापी रूपमा प्रदर्शन सुरु भएको थियो । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने मागसमेत व्यापक रूपमा उठेको थियो ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानून संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशमार्फत कानून ल्याउने निर्णय गरेको हो । यो निर्णयबाट बंगलादेशी नागरिकहरू सन्तुष्ट बनेका छन् । विशेष गरी बलात्कारको शिकारमा पर्दै आएका पीडितले यसलाई कानूनी लडाइँमा जितको संज्ञा दिएका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार बंगलादेशमा ९ सय ७५ जना महिला तथा किशोरी बलात्कारको शिकारमा परेका थिए । यो पछिल्लो ९ महिनाको तथ्यांक हो । दुई सयभन्दा बढी सामूहिक बलात्कार भएका थिए भने पीडितमध्ये ४३ जनाको बलात्कारपछि हत्या गरिएको थियो भने १२ जनाले आत्महत्या गरेको ऐन ओ सलिस केन्द्रले जनाएको छ । यो बंगलादेशको मानव अधिकारवादी संस्था हो ।