धरान । मुम्बई हाइकोर्टले अभिनेत्री रिया चक्रवर्तीलाई बुधबार जमानतमा छाड्न आदेश दिएको छ ।

अभिनेता सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएको लागूऔषध घटनामा सेप्टेम्बर ८ तारिखका दिन रियालाई ‘नारकोटिक्स कन्ट्रोल ब्यूरो’ (एनसीबी) ले पक्राउ गरेको थियो । रिया र सुशान्त प्रेमसम्बन्धमा थिए ।

सुशान्तसिंहको घरका व्यवस्थापक सैमुअल मिराण्डा र उनका घरेलु कर्मचारी दीपेश सावन्तलाई पनि जमानतमा रिहा गरिएको छ । उनीहरूलाई पनि एनसीबीले मुद्दा दर्ता गरेको थियो ।

तर, रियाका भाइ शौविक चक्रवर्ती र अब्देल बासित परिहारको जमानत हाइकोर्टले खारेज गरिदिएको छ । रियालाई एक लाख रुपैयाँ धरौटी र अन्य केही सर्तमा छाडिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै मिराण्डा र सावन्तलाई पनि ५०–५० रुपैयाँ धरौटीमा छाडिएको छ ।

रियालाई हरेक दश दिनमा आफ्ना नजिकैको प्रहरी कार्यालयमा पुगेर उपस्थित हुनका लागि आदेश दिएको छ । उनलाई अदालतमा पासपोर्ट जम्मा गर्नका लागि आदेश दिँदै अदालतको अनुमतिबिना अन्य मुलुक जानसमेत प्रतिबन्ध लगाइएको छ । मुम्बईभन्दा बाहिर जानका लागि पनि सुरक्षा अधिकारीलाई सूचित गराउनुपर्ने भएको छ ।

रियामा भाइ शौविकलाई थप २० अक्टोवरसम्म प्रहरी हिरासतमा राखेर जाँच गर्नका लागि अनुमति प्रदान गरिएको छ । बम्बई हाइकोर्टले रियालाई छाड्ने आदेश एम्स मेडिकल बोर्डको एक रिपोर्टका आधारमा दिइएको जनाइएको छ । जसमा अभिनेता सुशान्तसिंहको हत्या पूर्ण रूपमा खारेज गरिएको छ । अभिनेता सिंहको मृत्युको कारण आत्महत्या नै बताइएको छ ।

३४ वर्षीय अभिनेता सिंह १४ जुनमा मुम्बईको बान्द्रास्थित उनको निज निवासमा मृत भेटिएका थिए । अभिनेता सिंहका बुबा केके सिंहले बिहार राज्यस्थित पटनाको राजीव नगर थानामा प्रेमिका तथा लिभ इन पार्टनरका रूपमा रहेकी अभिनेत्री चक्रवर्ती र उनको परिवारको सदस्यविरुद्ध उजुरी दर्ता गराएका थिए । उनीहरू विरुद्ध दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो ।