दमक/सोमबार गौरादह नगरपालिका –१ की पार्वता भण्डारीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला प¥यो । उनका श्रीमान् भीम भण्डारी घर बाहिर रहेको र घरमा आउँदा श्रीमतीको लाश उनले देखे ।
घरभित्रैको खाटमुनी रगतमा लत्पतिएको र हातमा बोराको डोरी बनाएर बाँधेको अवस्थामा शव भेटिएको थियो । त्यसपछि उनले छिमेकीसँग हारगुहार गरे । क्षणभरमा छिमेकी जम्मा भए । एक कान, दुई कान मैदान हुँदै यो कुरा प्रहरीसम्म पुग्यो । सबैभन्दा पहिला गौरादहमा रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी पुग्यो । घटनाको प्रकृति र अवस्था हेर्दा गौरादह एक्लैले यसको समाधान वा निक्र्यौैल निकाल्न सक्ने जस्तो देखिएन । अपराधसँग जोडिएका अधिकांश घटना एक्लै कुनै पनि इलाकाले पनि हेर्दैन । त्यसैले गौरादहले आफूभन्दा माथिल्लो अधिकार भएको दमकलाई खबर ग¥यो । दमकको टोली पनि घटनास्थलमा पुग्यो । यसले फेरि जिल्लामा खबर ग¥यो र त्यसपछि प्रहरीको तीन तहका अधिकारीहरू घटनाको अनुसन्धानमा जुटे ।
घटनाको अवस्था र प्रकृति अनुसार व्यक्तिले मात्र सहज रूपमा अनुसन्धान हुने अवस्था नदेखेपछि जिल्लाले सङ्घीय प्रहरी इकाई धरानको सहयोग लिएर तालिमप्राप्त कुकुर मगायो । त्यसपछि आएको कुकुरलाई डग स्न्यापिङ गराइयो । घरबाट सुरु गराइएको डग स्न्यापिङ घरदेखि पूर्व हुँदै सिस्ने खोलासम्म पुग्यो । सिस्ने खोलाको पुलमा पुगेर कुकुर रोकियो । त्यसपछि प्रहरीसहितको अनुसन्धान टोली फर्कियो ।
टोलीले घटना भएको भोलिपल्ट अर्थात् मङ्गलबार केही छिमेकीसहित २ जना आफन्तलाई सोधपुछ ग¥यो । सोधपुछपछि प्रहरीले उनीहरूलाई छोड्यो । अहिले घर पूरै सिल गरिएको छ । कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । घरबाहिरका आवश्यक सबैलाई सोधपुछ गरिसकेर अब प्रहरी परिवारमा मात्र केन्द्रित हुने जनाएको छ । स्रोतका अनुसार बाहिरी छिमेकीसँगको सोधपुछ सकिएको र अब घरभित्र रहेकामा गहिरो अनुसन्धान गरिनेछ । घटना घरभित्रैका सदस्यबाट भयो वा अन्यबाट भन्नेबारे घटना भएको ३६ घण्टा हुँदा पनि प्रहरीले पत्ता लगाउन सकेको छैन ।
यस्तो छ घटनाको नालीबेली
घटनाको दोस्रो दिन मङ्गलबार घटनास्थल आसपास पुगेका स्थानीयवासीहरू प्रहरीले कतिबेला हत्यारा पत्ता लगाउला भन्ने आशामा बसेका थिए । सो स्थान आसपासका स्थानीयवासी तथा घटना भएपछि क्राइम सिन देखेकाहरूले भने यो निक्कै दर्दनाक घटना भएको बताइरहेका थिए । यस्तै मृतकका भतिजा देवु भण्डारीले आफूहरूलाई केही व्यक्तिप्रति शङ्का लागेको बताए । उनले भने, ‘पहिलादेखि नै जग्गाको विषयमा केही व्यक्तिहरूले काकालाई धम्क्याइरहेका थिए । तिनैमध्येकाबाट यो घटना घटाइएको हुनसक्छ ।’ मृतक भण्डारीको घरैछेउमा रहेका छिमेकी मनिष चम्लागाईंले घटनापछि आफूहरू त्रसित बनेको बताए ।
घटनापछि उनी पनि घटनास्थल पुग्ने र क्राइम सिन देख्ने व्यक्ति हुन् । उनलेपनि यो घटनाले आफूहरूलाई निकै चोट दिएको र अहिले धेरैनै त्रास उत्पन्न गराएको बताए । गौरादहमै व्यवसाय गर्दै आएका मातृका भट्टराईले अब एक्लैदोक्लै हिँड्न पनि डर लाग्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् । ‘गौरादहका प्रायः पुरुष वैदेशिक रोजगारीमा छन्, घरमा महिला एक्लै बसेका पनि छन् । त्यस्ता महिलालाई त झन् यो घटनाले त्रसित तुल्याएको छ’–उनले भने । यस्तै मृतकका छिमेकी मोहनप्रसाद खनालले व्यक्ति हत्याको घटनाले आफूहरूलाई दुःखित तुल्याएको भन्दै विगतमा शिवसताक्षीमा भएको परिवार हत्याको घटनाबारे केही पत्ता नलाग्नुले यस घटनामा पनि केही शङ्का भने उत्पन्न भएको भन्दै हत्यारा चाँडो पत्ता लगाउन प्रहरी प्रशासनसामु आग्रह गरे । दिनदहाडै घरमै बसिरहेका व्यक्तिको यसरी हत्या हुनुले आफूहरू त्रसित भएको र राति सुत्दा पनि डर लाग्ने अवस्था आएको स्थानीय शान्तिराम दाहाल बताउँछन् ।
शान्तिराम मात्र होइन, स्थानीय सविता कटुवालको भनाइ पनि उस्तै छ । घटनापछि भोक र निन्द्रा नै हराइरहेको उनी सुनाउँछिन् । सुरक्षाका दृष्टिकोणले गौरादहलाई शान्त नै मानिएको थियो । तर, अचानक घटेको पछिल्लो घटनाले आम गौरादहवासीलाई त्रसित तुल्याएको नगरप्रमुख रोहितकुमार साहले बताए । उनले नगरवासीलाई धैर्य गर्न आग्रहसमेत गरे । हत्यारा चाँडै पत्ता लाग्ने भएकाले प्रहरीको अनुसन्धानको अन्तिम नतिजा पर्खनुको विकल्प नरहेको उनले सुनाए । यस्तै झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले आफूहरू घटनाको अनुसन्धानमै लागेको र केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भइरहेको जानकारी दिएका छन् । उनले अहिले अनुसन्धानको क्रममा रहेको र सबै विवरण अहिलेनै भनिहाल्दा अनुसन्धानमा बाधा पुग्ने भएकाले धैर्य गर्न आग्रहसमेत गरेका छन् ।