धरान/ उदयपुरको त्रियुगा नगरपालिकाका दुई वडाबाट पति–पत्नीसहित ८ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका–२ फत्तेपुरबाट एक थान मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिइएको छ । उदयपुर जिल्ला प्रहरी कार्यालयका एसपी भीम दाहालका अनुसार पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ वर्षीय रजामुद्दिन अन्सारी, २२ वर्षीय शिव अधिकारी, २२ वर्षीय विशाल मगर, २४ वर्षीय दिलिप घिमिरे, २० वर्षीय मिलन विश्वकर्मा र २० वर्षीय सागर पौडेल छन् । प्रहरीले विशेष सूचनाको आधारमा बिहीबार बिहान पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट फेनारगन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल बरामद गरिएको छ । उनीहरूले प्रयोग गरेको स.१ प ३२२४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै त्रियुगा–६ लालपत्ताबाट पनि पति–पत्नीलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।

जिल्लाबाट खटिएको प्रहरी टोलीले सप्तरी कृष्ण सबरम नगरपालिकाका ३१ वर्षीय प्रवेश मियाँ र २६ वर्षीय हजारुम खातुनलाई नियन्त्रणमा लिएको हो । उनीहरू पति–पत्नी हुन् । उनीहरूको साथबाट फेनारगन ६० एम्पुल, डाइजेपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल बरामद गरिएको छ । पक्राउ परेका सबैलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।