विराटनगर । भारतमा तिव्र रूपमा कोरोना भाइरस फैलिरहेको अवस्थामा पैसाँ लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने गिरोह सक्रिय रहेको पाइएको छ ।

भाइरस रोकथाम र नियन्त्रणको लागि सिमा नाका पूर्ण रुपमा रोक लगाएको अवस्थामा भारतीय नागरिक नेपाल प्रवेश गराउन सिमा नाकामा गिरोह सक्रिय भएको पाइएको हो ।

भारतीय नागरिक नेपाल प्रवेश गराएवापत गिरोह निश्चित रकम लिने गरेका छन् । बुधबार नेपाल भारत सिमा नाका विराटनगरको दक्षिण गेटबाट भारतीय नागरिक नेपाल प्रवेश गराउने दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो । सशस्त्र प्रहरी बल बिओपी रानीले भारतीय नागरिक नेपाल प्रवेश गराउने विराटनगर १६ दक्षिण गेटका २८ वर्षिय बिकास बस्नेत र ४६ वर्षिय शंकर दासलाई पक्राउ गरेको छ ।

उनीहरूले भारतीय नागरिकलाई नेपाल प्रवेश गराए वापत प्रतिव्यक्ति निश्चित रकम लिने गरेको सशस्त्र प्रहरी बल बिओपी रानीका प्रमुख इनिस्पेक्टर मौसम पोखरेलले जानकारी दिए । पक्राउ परेकाहरूले भारतीय नागरिकलाई नेपाल प्रवेश गराए वापत प्रतिव्याक्ति न्यूनतम ६ सय रुपैयाँ लिने गरेका छन् ।

त्यस भन्दा बढी पनि लिने गरेको प्रहरीले जनाएको छ । उनीहरूले व्यक्ति हरेर पैसाँ असुली गर्दछन् । ‘कोरोना संक्रमण रोक्न अहिले राज्यले सिमा नाका शिल गरेपछि सिमा क्षेत्रमा रहेका गिरोहको धन्दा अहिले यही भएको छ,’ सुरक्षा स्रोतले भन्यो, ‘अहिले दैनिक जसो सिमा बसेर सुरक्षामा खटिएको प्रहरीको आँखा छल्दै गिरोहले भारतीयलाई नेपाल प्रवेश गराउँछन् । प्रहरीले देखे नियन्त्रणमा लिन्छ । नत्र नेपाल पस्छन् ।’

यसरी गिरोहले नेपाल प्रवेश गराउने भारतीय नागरिकहरू कामदारहरू बढी हुने गरेका छन् । उनीहरूलाई यहाँ रहेको उद्योगले बोलाउने भएकोले चोरबाटो हुदै यस्तै गिरोहको साहारा नेपाल प्रवेश गर्दछन् ।
गिरोहलाई पैसाँ दिएर लुकीछुपी नेपाल प्रवेश गरेको तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारतर्फ प्रहरीलाई बुझाएको छ भने पक्राउ परेका दुई जनालाई इलका प्रहरी कार्यालय रानी विराटनगरमा थप कारवाहीको लागि सशस्त्र प्रहरी बल बिओपी रानीले जिम्मा लगाएको छ ।

पैसाँ लिएर भारतीय नागरिक नेपाल प्रवेश गारउने विरुद्ध म्याद थप गरि अनुसन्धान गर्ने इप्रका रानीका प्रमुख इनिस्पेक्टर दिपक थापाले जानकारी दिए । ‘भारतीय नागरिकलाई छुकीछुपी नेपाल प्रवेश गराउनलाई पक्राउ गरि अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पक्राउ परेकाले अरु कतिलाई नेपाल छिराए यस विषयमा पनि अनुसन्धान भइरहेको छ ।’ उनीहरूलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।

यस अघि पनि भारतीय नागरिकलाई नेपाल छिराउने गिरोहलाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।