धरान । तेह्रथुमको आठराई गाउँपालिका–४ का २५ वर्षीय एक युवा एक किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

भदौ ४ गते तेह्रथुमको ईवाबाट ह्वाकू जाने बाटोमा सालनाल सहितको शिशु फेला परेपछि अनुसन्धानका क्रममा एक १६ वर्षीया किशोरी पक्राउ परेकी थिईन् । किशोरीसँग सोधपुछ गर्दा ती युवाले एक बर्ष अघि देखि ललाई फकाई, डर त्रास, धाक धम्की देखाई पटक पटक करणी गर्ने गरेको र उनको करणीबाट गर्भ रहेको खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर तेजबहादुर दाहालले बताए । प्रहरीले बुधबार जारी गरेको विज्ञप्तीमा ती युवाको परिचय भने खुलाइएको छैन ।
बाटोमा भेटिएको शिशुको प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल पाँचथर पठाएको थियो । तर शिशुको स्वास्थ्य अवश्था गम्भीर भएपछि झापास्थित बिर्तासिटी अस्पताल पु¥याइएपनि उनको मृत्यु भयो । शिशुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

शिशु जन्माई फाल्ने किशोरीलाई कर्तव्य ज्यान मुद्धामा भईरहेको र उनलाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने युवालाई जबरजस्ती करणी मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।