ब्लाष्टखबर । केन्द्रिय कारागार सुन्धारामा रहेका कैदीबन्दी रामलखन जैसवालको मृत्यु विवादित बनेकाे छ । कारागारबाट स्वासप्रस्वासकाे समस्या देखिएर वीर अस्पताल लगिएकाे भनिएका उनकाे अस्पताल पुग्दा नै मृत्यु भइसकेको वीर अस्पतालले बताएकाे छ ।

मृत्यु पछि काेराेना परिक्षण गराउँदा उनमा संक्रमण देखिएकाे वीर अस्पतालका निर्देश डाक्टर केदार सेन्चुरीले बताएकाे नागरिक खबरले उल्लेख गरेकाे छ ।

तर, मृत्यु भएका जैसवालको शरिरमा चाेटपटक देखिएकाे भन्दै उनका परिवारले हत्या भएकाे भन्दै  वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । उनिहरूले जैसवालमाथि गम्भीर कुटपिट गरेकाे र घाँटी रेटिएको भन्दै शरिरका विभिन्न भागमा चाेटपटक रहेकाे बताएका छन् ।

उनिहरूले अस्पतालका शुरक्षाकर्मीले शव हेर्न नदिएकाे र झ्यालबाट शव हेर्दा शरिरका विभिन्न भागहरूमा चाेटपटक देखिएकाे भन्दै हत्या नै भएको दावी गरेका छन् ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले जैसवालमा अचानक श्वासप्रश्वासमा समस्या देखेपछि कारागारभित्र भएको अस्पतालमा लगिएको बताए । त्यहाँबाट वीर लान भनेपछि वीर अस्पताल पठाएको उनले बताए ।  मृतकको शरीरमा कुनै चोटपटक नभएको पनि उनले दावी गरे । शंका लागे सिसिटिभी फुटेज हेर्न सकिने जेलर बास्कोटाको भनाई छ ।