राजविराज । सप्तरीको डाकनेश्वरी नगरपालिकामा सामूहिक बलात्कारपछि आत्महत्या प्रकरणका दुई जना आरोपीहरु पक्राउ परेका छन् ।

विहिवार राति प्रहरीले उनीहरुलाई जिल्लाको पश्चिमी क्षेत्रबाट पक्राउ गरेको हो । ओरोपीहरुलाई खोजी गर्ने क्रममा डाकनेश्वरी नगरपालिका–७ का चार जनामध्ये १८ वर्षीय रंजित भनिने सरोजकुमार मण्डल र १९ वर्षीय बब्लु भनिने सुमन कुमार मण्डललाई पक्राउ गरेको एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

फरार रहेका आरोपीहरु ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डलको पनि खोजी कार्य भइरहेको एसपी धमलाले बताए । गत सोमवार विहान १७ वर्षीया संंगीता मण्डल सामूहिक बलात्कारमा परेपछि गाउँमा ‘पञ्चायती’ बसेर आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ गरी उजुरी गर्न रोक लगाएका ३ जना पञ्चहरुलाई यसअघि नै नियन्त्रणमा लिइएको थियो ।

पञ्चहरु जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डलले उजुरी गर्न रोक लगाएका कारण सोही नगरपालिका वडा नम्वर ७ ललितपुर टोलकी पीडित संगीताले पीडा सहन नसकी गत मंगलवार आत्महत्या गरेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।