Trending Tags

‘नगरवासीलाई विश्वास दिलाउन चाहन्छु’

alt नगरप्रमुख तिलक राई
  • आश्विन २, २०७७
  • ब्लाष्ट खबर

निर्वाचित भएपछि नगरमा के कति काम गर्नुभयो ?
–म निर्वाचित भएर नगरपालिका प्रवेश गरेपछि संयन्त्र मिलाउने र बुझ्ने काम हुँदाहुँदै विश्वमा कोरोना भाइरस भयावह रूपमा आयो । यसबाट धरान पनि अछुतो रहन सकेन । नगरवासीलाई भाइरसको सङ्क्रमण हुनबाट बचाउने कार्यमा धेरै लागेको छु । यो सँगसँगै नगरका विकास निर्माणका कार्यहरू पनि अघि बढाइरहेको छु ।

भाइरस नियन्त्रण गर्न के कस्ता चुनौती थिए र छन् ?
–स्वभाविक रूपमा विश्वलाई नै चुनौती रहेको अवस्था भएको बेला हामीलाई पनि चुनौती र अप्ठ्याराहरू नहुने भन्ने भएन । धरानमा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले अलि बढी सङ्क्रमणको खतरा थियो । चुनौती पनि धेरै नै थिए । तर, हामी सबै पक्ष राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाज, स्थानीयवासी र प्रतिष्ठानको सहयोगमा अहिले नियन्त्रण तथा व्यवस्थापन गर्न सफल नै भएका छौँ ।

कोरोना भाइरस भयावह हुँदै आइरहेको छ तर, सरकारले सार्वजनिक यातायात सञ्चालन गरिरहेको छ, यसलाई नगरले कसरी लिएको छ ?
–यो चुनौतीपूर्ण नै छ । तर, सरकारले निषेधाज्ञा जारी गरिरहँदा पनि एउटा समूहका मानिसहरू बाहिर हिँडिरहेका छन् । त्यसैले कि सरकारले सबैलाई नियन्त्रणमा लिएर राख्ने सामथ्र्य राख्नुप¥यो । कि नागरिक आफै सचेत हुनुप¥यो । त्यो दुईवटै विकल्प नभएपछि जस्तो परिस्थिति आउँछ । त्यसको सामना गर्दै अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था छ । अहिले नागरिक नै खोल्नुपर्छ भन्नेमा देखिएका छन् । सरकारले देशवासीको भावनाअनुसार नै खोलेको हुनुपर्छ । तर, अब सर्वसाधारणले कुन रूपमा लिनुहुन्छ त्यो हेर्न बाँकी छ । दुई–चार दिनको प्रयोगले एउटा सुझाव आउला, त्यसलाई आधार मानेर सरकार अगाडि बढ्नुपर्छ ।

नेपाली काङ्ग्रेसले निर्वाचनमा कर घटाउने मुख्य मुद्दाको रूपमा लिएको थियो, कर समायोजन भयो कि भएन ?
–हो, नगरवासीको गुनासो थियो । त्यसैले निर्वाचनमा मुद्दा पनि बन्यो । जब म निर्वाचित भएर आएँ, त्यसपछि नगरको समीकरण बुझ्नु प¥यो । कर मुद्दा व्यक्तिगत होइन, संस्थागत हुनुपर्छ । सबैलाई मान्य व्यवहारिक र वैज्ञानिक बनाउनु पर्छ भन्ने हो । निर्वाचनको परिणामलगत्तै नेकपाले पनि कर समायोजन गर्नुपर्छ भनेर विज्ञप्ति जारी ग¥यो । त्यो सबैलाई आधार मानी विश्लेषण गरेर कर समायोजन समिति बनायौँ । त्यो समितिको सिफारिसअनुसार सबै किसिमका करहरू समायोजन भएका छन् ।

स्थानीय तहको आम्दानी वृद्धि भयो तर धरानको विकास निर्माणमा धेरै परिवर्तन आएको छैन नि ?
–स्थानीय जनसहभागितामूलक विकासमा धरान नमुनाकै रूपमा आएको छ । त्यसलाई व्यवस्थित गर्न नसक्दाखेरी नगर र नागरिकबीच ठूलो अविश्वास छ । हाम्रा नगरवासी विकास निर्माणका लागि लाखौं रुपैयाँको जग्गा दिन तयार हुनुहुन्छ । तर, अविश्वासका कारण कर तिर्न सकिराख्नुभएको छैन । नगरपालिकामा जनप्रतिनिधिहरू नहुँदा विविध प्रकारका अविश्वास भए होलान् । त्यसले अपेक्षाकृत विकास हुन सकेन । पहिलो चुनौती जनप्रतिनिधिले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । तपाईंले भनेजस्तो अन्य आम्दानी बढे पनि आन्तरिक आम्दानी कमै छ । विश्वास जितेर स्थानीय आम्दानी वृद्धि गर्न सकियो भने विकास हुन्छ ।

खानेपानीको महसुल कहाँ बुझाउनु पर्ने हो, यसमा नगरवासी अन्यौलमा छन् नि ?
–धरान नगरको मात्रै आयोजना होइन । सिङ्गो नगरवासीकै आयोजना हो । यो खानेपानी पहिलो आवश्यकता पनि हो । त्योबेला खानेपानी संस्थानलाई व्यवस्थापन गर्नुभन्दा नसक्ने भयो । धरान उपमहानगरपालिका, स्थानीय राजनीतिक दल सम्बन्धित पक्षले शुरु ग¥यौं । कर्मचारी संयन्त्रले काम ग¥यो । सबैपक्षसँग समन्वय हुन सकेन । अनुगमन नियमन गर्न नसक्नु धरानवासीको कमजोरी हो । स्थानीय जनप्रतिनिधि आएपछि पनि अगाडि बढाउन नसक्नु झन् ठूलो कमजोरी हो कि भन्ने महसुस हुँदैछ । यसले खानेपानी समस्या जटिल हुँदै आएको छ । तर, नेपाल सरकारले नै खानेपानी संस्थानलाई बोर्डले सञ्चालन गर्ने निर्णय गरेको छ । अर्को कुरा, संस्थान सङ्घीय सरकार अन्तर्गतको हो । त्यो प्रक्रियागत हुनाले हामीलाई थप अप्ठ्यारो पर्दछ । बोर्डले सञ्चालन गर्दा सबै स्वामित्व नगरमा आउँछ । बोर्डमा आएपछि निर्णयाधिकारदेखि स्वामित्व नगरमा आउने हुनाले सहज हुन्छ । हामीले नगरवासीलाई बोर्डमा बुझाउन आग्रह गरेको हो । बोर्डमा आएपछि समस्याहरू बुझेर विलम्ब शुल्क मिनाहा पनि गर्न सक्छौँ ।

तपाईले पहिले बोर्डमा गाभ्नु हुँदैन भनेर अभियान नै चलाउनुभयो, नगर प्रमुख भएपछि चाहिँ बोर्डमा ल्याउनुपर्छ भन्दै हुनुहुन्छ नि ?
–यसमा मलाई लागेको कुरा भन्छु । म गलत वा सही के हो भन्ने नगरवासीकै हातमा छोड्न चाहन्छु । म नेपाली काङ्ग्रेसको सभापति हुँदा आयोजनाले तलमाथि पो ग¥यो कि, त्यहाँ भ्रष्टाचार पो भयो कि भन्ने जनताको गुनासो थियो । त्यही मुद्दा लिएर हिँड्यौं । तर, म कार्यकारी स्थानमा थिइनँ । खबरदारी ग¥यौं । जनताको गुनासोलाई लिएर निर्णय गर्ने स्थानमा आएँ । त्यसैले सूक्ष्म अध्ययन गरेर कमजोरी औंल्याउँदै कार्यान्वयनमा जानुपर्छ र नगरवासीलाई पानी खुवाउनुपर्छ भनेर बोर्डमा ल्याउने पक्षमा छु ।

धरानमा नाटकघर निर्माणको काम आर्थिक वर्षको अन्त्यमा शुरु भयो । अहिले काम सकिए पनि बजेट निकासामा समस्या भएको छ, खास किन यस्तो हुन्छ ?
–धरान नगर १ नम्बर निर्वाचन क्षेत्रमा पर्छ । यसमा प्रदेश, सङ्घीय र समानुपातिक सांसद् हुनुहुन्छ । यसको पारस्परिक सम्बन्धको अभावका कारणले यस्तो हुन पुगेको हो । नगरपालिकाले नगरवासीको अविश्वासका कारणले यस्तो भएको हो । अब यस्तो हुन नदिनका लागि प्रयत्न गरिरहेको छु ।

सर्दु करिडोर ठेक्का लाग्ने प्रक्रियामा छ, तर स्थानीयवासी र नगरपालिकाको कुरा मिलिसकेको छैन नि ?
–सर्दु खोलाले बर्सेनि जन, धनको क्षति गरिरहेको छ । प्रमुख कुरा त्यो हुन नदिउँ भन्ने हो । त्यससँगै बाटो पनि बनायौं भने चक्रपथको सपना पनि पूरा हुन्छ । पूर्वाधार विकास पनि हुन्छ । बस्ती पनि विकास हुन्छ । मापदण्डअनुसार खोलाको ८० मिटर र सडक ३० मिटर नै हो । तर, त्यसलाई यहाँको आवश्यकताअनुसार निर्धारण गर्नुपर्छ, छलफल गरिरहेका छौँ ।

सुकुम्बासी समस्यालाई कसरी समाधान गर्ने योजनामा हुनुहुन्छ ?
–हामीले हिजोका दिनमा लिएको लगतको व्यवस्थापन गर्न सकिरहेका छैनौं । त्यसैले अब सुकुम्बासी बस्नु हुँदैन । घर थपिनु हुँदैन । थपियो भने पहिले भएकाको समस्या पनि समाधान हुँदैन । त्यसैले सुकुम्बासीका नेताहरू, स्थानीय राजनीतिक दललाई सुकुम्बासी नथप्न आग्रह गर्छु । करिडोर निर्माण गरेपछि खोलापारि सकिन्छ । यता रहेको खाली स्थानमा व्यवस्थापन गर्न सकिन्छ कि भन्ने लाग्छ । धेरै जमिन ओगटेर बसेको भन्ने जानकारी आएको छ । धेरै हुनेको घटाएर र वास्तविक सुकुम्बासीलाई ५ धुरसम्म दिएर भए पनि समाधान गर्ने पक्षमा छु ।

तपाईं निर्वाचित भएर आएपछि महत्वपूर्ण कार्यहरू के के भए ?
–नगरको समीकरणमा फरक–फरक राजनीतिक दलका छौँ । समीकरणलाई नै मिलाएर जान सक्नुलाई एउटा महŒवपूर्ण कार्य मान्छु । हामी फरक–फरक राजनीतिक दलका भए पनि अहिलेसम्म ठूलो विवाद भएको छैन । त्यो नेतृत्वको कारणले हो । कार्यकालभरि विवाद नआएपछि विकास त त्यसै हुन्छ । नेतृत्वको यो सबैभन्दा ठूलो काम हो । अहिले म क्रमागत योजनालाई सम्पन्न गर्न लागिपरेको छु । जसको पालामा शुरु भए पनि त्यो नगरवासीको आवश्यकता हो । त्यो सम्पन्न ग¥यौं भने ठूलो उपलब्धि हुनेछ ।

आगामी दिनमा केही गौरवका योजनाहरू गर्ने सोचमा हुनुहुन्छ ?
–करिब डेढ वर्षको छोटो कार्यकाल छ । छोटो समयमा ठूलो महत्वाकांक्षा राख्नु उपयुक्त लाग्दैन । त्यसैले नयाँ योजनाभन्दा पनि जति सञ्चालित योजनाहरू छन् । तिनैलाई सम्पन्न गर्न सकियो भने त्यही ठूलो उपलब्धि हुनेछ ।

ब्लाष्ट दैनिकको २६ औ वार्षिक उत्सवमा के भन्न चाहनुहुन्छ ?
–सर्वप्रथम त २६ औँ वर्ष पुगेको अवसरमा नगर प्रमुखको हैसियतले वृद्धि र विकासको लागि शुभकामना दिन चाहन्छु । वृद्धि र विकासका लागि नगरले के गर्नुपर्छ, त्यसको लागि तत्पर रहेको कुरामा विश्वास दिलाउन चाहन्छु । हामी सँगसँगै ब्लाष्ट पनि आइरहेको छ। मेरा विचारहरू सम्प्रेषण गर्ने र अरूको विचार हेर्न पाएका छौँ । ब्लाष्ट प्रदेश नं. १ कै लोकप्रिय पत्रिका धरानमा हुनु गौरवको कुरा हो । स्थापनाकालदेखि नै सबै पक्षको लागि राम्रो काम गरेको छ । ब्लाष्टले राष्ट्रियस्तरका पत्रकार उत्पादन गरेको छ । उत्पादन गर्ने मात्रै होइन । धेरैलाई पत्रकार बनायो । धरानको चिनारी र धरानलाई चिनाउने पनि ब्लाष्ट हो । अहिले असङ्ख्य सञ्चारमाध्यम आए । तर, पहिले कुनै पनि सञ्चारमाध्यम नभएको बेला स्थापना भएर धरानलाई मात्र नभएर राष्ट्रलाई ठूलो योगदान दिएको छ । सत्य–तथ्य समाचार सम्प्रेषण गर्दै नगरवासीको चाहनालाई पूरा गर्न सकोस् । आग्रह, पूर्वाग्रह र भेदभाव नगरी समाचार सम्प्रेषण गरोस् । यसलाई हेरेर अन्य मिडियाले पनि यही रूपमा आफूलाई उभ्याउन सकून् । ब्लाष्टले कुनै पनि स्थान वा नगरपालिकामा तलमाथि भएको कुराको खबरदारी गर्दै राम्रो कुराहरू पनि सम्प्रेषण गरोस् ।

प्रस्तुती ः खिलानाथ विश्वकर्मा

होम आइसोलेसनमा रहेका ...

धरान । होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमितको बाथरुम ...

गुडिरहेको मोटरसाइकलब ...

धरान । गुडिरहेको मोटरसाइकलबाट अचानक खस्दा झापा गौरीगञ्ज ...

र्यापर भिटेनलाई कारब ...

धरान । हालै सार्वजनिक भएको र्याप भिडियोमा आपत्तिजनक शब् ...

विप्लव समूहका पूर्वी ...

विराटनगर/ नेत्रविक्रम चन्द (विप्लव) नकेपाका पूर्वी कमाण ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved