इनरुवा । अज्ञात समूहको आक्रमणमा परी सुनसरीको इनरुवा–३ सोमबारे हाटमा एक पुरुष घाइते भएका छन् ।

सुनसरी प्रहरीका अनुसार उक्त घटनामा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ घर भएका ५५ वर्षिय सीताराम मेहता घाइते भएका हुन् । सोमबारे हटियाको छाप्रोमा बसेर गाई पालन गर्दै आएका मेहता टाउकोमा चोट लागेको अवस्थामा बेहोस भेटिएका थिए । मेहताको टाउकोको दाहिने भागमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थल नजिकै फलामको टुक्रा फेला परेकाले सोही वस्तुले हिर्काएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीका अनुसार घाइतेकोे अवस्था गम्भिर छ । उनको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भैरहेकोे छ । घटनापछि पुगेको प्रहरीले गम्भिर अवस्थाका घाइतेलाई अस्पताल पठाएको थियो ।

घाइतेको अवस्था गम्भिर रहेकाले उनीसँग सोधपुछ गर्न नसकिए पनि अन्य माध्यमबाट घटनाको अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कारण रकम लुटपाटको उद्देश्य हुन सक्ने अनुमान गरेको छ ।

स्थानीयले समेत रकम लुटपाट गर्ने नियतले मेहतामाथि आक्रमण गरिएको हुन सक्ने आंकलन गरेका छन् । स्थानीयका अनुसार मेहताले अघिल्लो दिन गाई बेचेका थिए । अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न भएकाहरुको खोजी जारी रहेको जनाएको छ ।