विराटनगर । सर्वसाधरणले धितोमा राखेको सुनचाँदी लिएर मोरङको बुढीगंगा गाउँपालिका – १ टंकीसिनवारीस्थित ‘चन्दा ज्वेलर्स’ का संचालक फरार भएका छन् ।

ज्वेलर्सका संचालकदोय चन्दन स्वर्णकार र संगीता स्वर्णकार फरार भएका हुन् । फरार भएका उनीहरू श्रीमान श्रीमती हुन् । उनीहरूले बुढीगंगा गाउँपालिका भित्रका सयौंको संख्यामा धितो राखेको लाखौंको सुनचाँदी लिएर फरार भएको पीडितहरूले बताएका छन् । पीडितहरूले मोरङ प्रहरीमा आइतबार किटानी जाहेरी पनि दर्ता गराएका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले धितोमा राखेर सुन लिएर फरार भएको किटानी जाहेरी परेपछि अनुसन्धान सुरू गरेको जानकारी दिए ।

सुन पसलमा धितो राखेको लाखौं मूल्य बरावरको सुनचाँदी लिएर स्वर्णकार दम्पती एक हप्ता अगाडी पसल बन्द गरि सम्पर्क विहिन भएको स्थानिय सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार बढीगंगा गाउँपालिका र विराटनगर करिब एक सय जनाको धितोमा राखेको सुन र पैसा दिएर बनाउन दिएको सुन लिएर संचालक फरार भएका हुन्। 

बुढीगंगा गाउँपालिका २ टंकिसिनवारीका देवि थापा निरौलाले धितोमा राखेको साढे चार तोला सुन लिएर संचालक फरार भएको बताइन्। ‘विभिन्न मितीमा साढे चार तोला सुन धितो राखेर कर्जा १ लाख रुपैयाँ कर्जा लिएकी थिएँ,’ उनले भनिन, ‘अहिले धितोमा राखेको सुन उकास्न जाँदा पसल बन्द छ ।’

४ लाख ५० हजार मुल्य बराबरको सुन लिएर संचालक फरार भएपछि दुःख गरेर आर्जेको सम्पती डुब्ने खतरा भएको उनले बताइन । यसैगरि बढीगंगा गाउँपालिका ३ बाँसवारीकी राधा बरालले पनि सोही ज्वलेर्समा १४ हजार रुपैयाँमा आधा तोला सुन धितो राखेकी थिइन । ‘लकडाउनले गर्दा समस्या भएपछि भएको आधा तोला सुन २ भदौमा धितो राखेको थिए,’ उनले भनिन  ‘अहिले धितो राखेको सुन उकास्न आउँदा सुन पसल बन्द छ ।’

Ujari 1 स्वर्णकर दम्पतीले अरु ठाउँमा पनि यसरी पसल खोली सर्वसाधरणलाई ठगी गरेको हुनसक्ने भएकोले प्रहरी प्रशासनले खोजबिन गरि कारवाहीको दायरमा ल्याउनुपर्ने पीडित बुढीगंगा गाउँपालिका २ का राजन खड्काले बताए।

चन्दा ज्वेलर्सले सुन धितोमा राखेर २४ प्रतिशत ब्याज लिने गरेको उनीहरूले बताएका छन् । आधा तोलादेखि बढीमा साढे चार तोलासम्म धितोमा राखेको सुन लिएर स्वर्णकार दम्पतीले बोक्ने ९८६२२८८३१४, ९८१९३९९१२७ नम्बरको मोबाइलको स्वीच अफ गरेर सम्पर्कबिहीन छन् । उनीहरुले अहिले आफनो फेसबुक एकाउण्ट पनि डिएक्टीभ गरेका छन् । संचालक दम्पती भागेको हल्ला चलेपछि धितो राख्ने र पैसा दिएर सुनचाँदी बनाइदिने सर्वसाधरणको अहिले दैनिक पसलमा भिड हुने गरेको छ । सर्वसधारणले धितोमा राखेको सुन लिएर सिक्किम ससुराली रहेकोले त्यही फरार भएको हुनसक्ने बुढीगंगा गाउँपालिका २ का पीडित सूर्य बहादुर थापाले बताए । फरार भएका संचालक खोजी गरि कारवाहीको दायरामा ल्याउन पीडितहरूले माग छ ।