धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्रप्रसाद दास (बीपी दास) विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले ७ करोड ७१ लख ९२ हजार ८ सय ६ बिगो दाबी दासलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपपत्र दायर गरेको हो । अख्तियारले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तीमा दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुँदा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको उल्लेख छ ।

विज्ञप्तीमा लेखिएको छ,‘दासले मिति २०५०।०३।२७ मा जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०६८।०९।१७ मा उपकुलपति र तत्पश्चात सोही प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेकोमा निजको सेवा प्रवेशको मिति २०५०।०३।२७ देखि २०७६।०३।३० सम्मको अवधिसम्म निजले रु। ७,७१,९२,८६०।२४ सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिन्छ ।’

अख्तियारले दासले कमाएको अवैद्य सम्पत्ति उनको श्रीमतीको नाममा स्रोत नखुलेको सम्पत्ति विवरणमा राखेकोले दुवैको नाममा रहेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ । डा.दासलाई अख्तियारले यसअघि पनि उनीसहित अन्य पुर्वपदाधिकारीहरुलाई विभिन्न सामग्री खरीदमा प्रतिष्ठानलाई नोक्सानी हुने गरि मिलेमतो गरेको भन्दै भ्रष्टचार मुद्दा दायर गरेको थियो ।