विराटनगर/चोरबाटोबाट जोगवनी हिँडेका विराटनगरका एक युवामाथि लागूऔषध तस्करले गोली प्रहार गरी घाइते बनाएको छ ।

विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय वासु भनिने दीपक मण्डलमाथि नेपाल र भारतको सीमा दशगजा क्षेत्र अन्तर्गत भारततर्फको भू–भागमा आइतबार गोली प्रहार गरेको हो । गोली प्रहारबाट उनी घाइते बनेका छन् । मण्डललाई भारतबाट अवैधरूपमा लागूऔषधको कारोबार गर्ने तस्करको समूहले गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ । मण्डल पनि लागूऔषध प्रयोगकर्ता रहेको बुझिएको छ । उनी लागूऔषध लिन भारततर्फ जाँदा एक–आपसमा विवाद भई गोली प्रहार गरेको प्रहरी स्रोतले बताएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण अहिले सीमा क्षेत्रबाट दुई देशबीचको आवत–जावत बन्द गरिएको छ । सीमा कट्नासाथ दशगजाको भारततर्फ क्यारेम बोर्ड खेलेर बसिरहेका भारतीय युवाले विवाद गरी आफूमाथि गोली प्रहार गरेको जानकारी मण्डलले नेपाल प्रहरीलाई गराएका छन् । गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा चोट लागेको छ ।

गोली प्रहारपछि ढलेका मण्डललाई घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचारका लागि पुर्याएका थिए । नेपाल प्रहरीका अनुसार क्लिनिक सञ्चालकले गोली प्रहार किन गरेको भनेर सोध्न थालेपछि घटनामा संलग्न त्यहाँ पनि तस्करले पेस्तोल निकालेर तीन राउण्ड हवाईफायर गरेका थिए ।

हवाईफायर भएपछि जोगवनीमा भागदौड मच्चिएको थियो । त्रासका कारण स्थानीयबीच भागदौड हुन थालेपछि त्यही मौका छोपेर आफू पनि नेपाल छिरेर ज्यान बचाएको घाइते मण्डलले मोरङ प्रहरीलाई बताएका छन् ।