धरान । धरान २० को भालढुंगा सामुदायिक वनभित्र भदौ १३ गते रुख काटिएको विषयमा आफू संलग्न नभएको दाबी गर्दै आएका समूहका कोषाध्यक्ष भीम बस्नेतले पन्ध्र दिनपछि रुख काटेको स्वीकार गरेसँगै थप रहस्यको पर्दा खुल्ने संकेत देखिएको छ ।
सव डिभिजन वन कार्यालय विष्णुपादुकालाई पठाइएको लिखित जवाफमा पनि अध्यक्ष बुद्धिमान तामाङबाहेकका ८ जना पदाधिकारीहरूले चोरी तस्करीका विषयमा थाहा नभएका र कोषाध्यक्षको संलग्नता पुष्टि नहुने दाबी गरेको प्रत्यूत्तर पठाएको थियो । तर, एकाएक एक साता नबित्दै वन कार्यालयलाई ‘आफैले काटेको स्वीकार’ गरेपछि घटनामा थप ट्विस्ट आउने संकेत देखिएको हो ।
सव डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुखसमेत रहेका अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवका अनुसार कटानमा प्रत्यक्ष संलग्न भएका चारजनामध्ये दुई जनाले समूहका कोषाध्यक्ष बस्नेतले बोलाएर काटेको बयान दिएपछि पत्राचार गरिएको थियो । आइतबार कार्यालयमा उपस्थित भएका उनले आफैले काटेको स्वीकार गरेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको जनाएका छन् ।
वन समूहका अध्यक्ष तामाङले गत आइतबार सव डिभिजनलाई पठाएको प्रत्यूत्तरमा स्पष्टसँग धरान उपमहानगरका प्रमुख तिलक राईको निर्देशन र कोषाध्यक्ष बस्नेतको रहोबरमा काटिएको उल्लेख गरेका थिए । भदौ १५ गते मुचुल्का उठाउन गएको डिभिजन वनको टोलीलाई बिनाचलानीको समूहको लेटरप्याडमा नगर प्रमुख राईको नाममा किटानी जाहेरी दिएका थिए ।
तर, यता वन कार्यालयले हालसम्म पनि प्रमुखलाई पत्राचार गरेको छैन । वन कार्यालयका एक स्रोतका अनुसार घटनामा नगर प्रमुख पनि कुनै न कुनै रूपमा जोडिएकाले कारबाहीको भागीदार बन्छन् । नगर प्रमुख राईले धरान उपमहानगरपालिकाको लेटरप्याडमा भदौ १६ गते आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले आएको बताएका थिए । यतिसम्म कि कोषाध्यक्ष बस्नेतको पनि कुनै कतै संलग्नता नरहेको स्पष्ट पारेका थिए ।
सोही दिन साँझ नगर प्रमुख राईले काठ खोजी गरेको श्रव्य सामग्री बाहिरिएपछि प्रमुख राईले कुनै प्रतिक्रिया दिएका छैनन् । नगर प्रमुख राईलाई बचाउनका लागि समूहमा त्यसपछि पनि व्यापक छलफल भएको थियो । तर, त्यो छलफलमा कोही कसैले मोबाइल प्रयोग नगर्न र स्वीचअफ गर्नसमेत भनिएको थियो । जहाँ नगर प्रमुखले गल्ती स्वीकार गरिसकेकाले ‘उहाँलाई बचाउनुपर्छ’ भन्ने आसयको अर्को श्रव्य सामग्री पुनः बाहिरिए पनि हालसम्म उक्त श्रव्य सामग्री गोप्य राखिएको छ ।
यतिसम्म भइसक्दा पनि हालसम्म नगर प्रमुख राईको विरुद्धमा वन कार्यालय नजानुले वन कार्यालय उल्टो नगर प्रमुखलाई बचाउमा लागेको आरोप लाग्न थालेको छ । यतिसम्म कि धरानमा रहेका सामुदायिक वन समूहका पदाधिकारीहरूले ‘एक संघर्ष समिति गठन गरेर’ नै आन्दोलन थालेका छन् । यसअघि नेकपा निकटको भातृ संस्था (साविकको एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपाल) ले सत्यतथ्य छानबिनको माग गर्दै कारबाही गर्नका लागि ज्ञापन पत्रसमेत बुझाएको थियो ।
त्यसयता रुख काट्नमा संलग्न चार जनाविरुद्ध समूहका अध्यक्ष तामाङले किटानी जाहेरी दिएका थिए । नगर प्रमुख, कोषाध्यक्ष र काट्नमा संलग्न चार जनाविरुद्ध उजुरी दिए पनि काट्नमा संलग्न र कोषाध्यक्ष मात्रै पक्राउ हुनुले थप आशंका जन्माएको अध्यक्ष तामाङले स्वयम् बताएका थिए । अध्यक्ष तामाङले काँचो रुख कटान भएको थाहा पाएयतादेखि नै नगर प्रमुखको निर्देशन र कोषाध्यक्ष बस्नेतको रहोबरमा काटिएको दाबी गर्दै आइरहेका छन् । त्यसबेला १२ वटा टुना गरिएको १६४ दशमलव २३ क्यूबिक फुट रुख कटान भएको थियो ।
कोषाध्यक्ष बस्नेत आज (भदौ २८) गते पक्राउ परिसके पछि भने घटनाले नयाँ मोड लिने संकेत देखा परेको छ । समूह नै बचाउन लाग्दा पनि अन्ततः पक्राउ परिनुले घटनामा ठूलै चलखेल भएको अनुमान गर्न थालिएको छ ।