धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी–५ झुम्काका ४३ वर्षीय पुरुषको शुक्रबार दिउँसो ४: ३० बजे मृत्यु भएको हो ।
उनी इनरुवा जिल्ला अस्पताल, सुनसरीबाट रिफर भएर प्रतिष्ठानमा उपचारका लागि आएका थिए । उनी विगत १ बर्ष देखि झुम्का कारागार रहेका थिए । उनलाई १० दिन देखि ज्वरो आएको थियो भने २ दिनदेखि खोकी र स्वासप्रस्वासमा समस्या भएको थियो । भदौ २६मा प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसैबेलादेखि उनी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका थिए ।
उनको अन्त्यष्टि कोरोना गाइडलाईन अनुसार हुने प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।