बिर्तामोड / अमेरिकामा रहेका झापालीहरू सङ्गठित भएका छन् । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने झापालीको भेलाले जन्मस्थानको विकासमा लाग्नका लागि सङ्गठित भएको जनाएका छन् । जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन भएको ‘झापाली समाज युएसए’ अधिवेशनको तयारीमा जुटेको छ ।

झापाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने मुख्य नीति अन्तर्गत काम गरिरहेको समाजको आगामी कार्यक्रम गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने रहेको छ । जसका लागि २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी शैक्षिक क्षेत्रको सुधार गर्न सहयोग गर्ने र शिक्षाको पहुँचबाट टाढा भएका विद्यार्थीहरूलाई एक व्यक्तिले कम्तीमा एक विद्यार्थीको उच्च माध्यमिक तहसम्मको अध्ययनका लागि सहयोग गर्ने अभियान शुरू गर्ने भएको छ ।

‘शिक्षामा सबैको पहुँचको लागि सामूहिक योगदान, एक व्यक्ति एक विद्यार्थी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही आइतबार र सोमबार भर्चुअल सम्मेलन गर्ने निर्णय समाजले गरेको छ ।

समाजले सम्मेलनको उद्घाटन समारोहमा प्रदेश नं. १ का अन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की प्रमुख अतिथि तथा अतिथिहरूमा सङ्घीय संसद्का सांसद् राजेन्द्र लिङ्देन, नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनबहादुर कार्की, नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा झापा विकास मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकाललगायत झापा जिल्लाका विभिन्न संस्थाका प्रतिनिधिहरू र झापाली समाजका विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई भर्चुअल सम्मेलनमा निमन्त्रणा गरेको छ ।

समाजले सम्मेलनको तयारी स्वरूप सदस्यता वितरण र क्षेत्रीय समितिको गठनलाई तीव्रता दिएको छ । मेरिलेण्ड, भर्जिनिया तथा डिसी एरियालाई समेट्ने गरी मोहन उप्रेतीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिमा सन्तोष प्रसार्इं उपाध्यक्ष, तोया पौड्याल सचिव, आशिष सङ्ग्रौला कोषाध्यक्ष रहेका छन् ।

सदस्यहरूमा दुर्गा सिटौला, रूद्र ढुङ्गेल, अर्जुन ढुङ्गेल, कुवेर सङ्ग्रौला, रमेश खनाल, विजय राजवंशी, गुरु ओली, राजकुमार ओली, नारायण शिवाकोटी, भूमा खरेल, दीपेन खरेल, लक्ष्मी मिश्र, इन्दिरा अधिकारी, सरोज उप्रेती, गौरी रिसाल, प्रदीप अधिकारी, प्रवीण खड्का, उमेश निरौला, कमल नेउपाने, कला चूडाल र तारा सुवेदी चयन भएका छन् ।
भेलाले डा.गोपी उप्रेती, डा. मदन उप्रेती, डा. महेन्द्र कार्की, खगेन्द्र अधिकारी, प्रेम सङ्ग्रौला, कविन्द्र सिटौला, सीता पाण्डे, गुणराज लुइटेल, कृष्ण भण्डारी, याम सिटौला, चेतन सिटौला, तेजकी ओली, त्रिलोचन प्रसाईं, मनिष पोखरेल, मोहन निरौला तथा मिलन राईलाई सल्लाहकार चयन गरेको छ ।