पथरी । वैदेशिक रोजगारमा खाडी मुलुक साउदीको रियाद गएका नेपालीहरूलाई कम्पनीले दिने प्लेन टिकट कुर्दाकुर्दै कम्पनीको कोठामै ७ महिना बितेको छ । कम्पनीको काम रोकिएपछि घरआउने टिकट कुर्दाकुर्दै ७ महिना बितेको हो ।

कोरोना भाइरस विश्वमा फैलिएसँगै काम ठप्प पारेर साउदीको रियादमा रहेको कइफेर, विञ्जाभर र समासको कम्पनीले ३ हजार नेपालीलाई ७ महिना अघिदेखि कोठामा थुनेर राखेका छन् ।

कइफेर कम्पनीका १ सय जना र विञ्जाभर कम्पनीका ६ सय जना र अरू सबै समासको कम्पनीका गरी जम्मा ३ हजार जना नेपालीलाई कम्पनीकै कोठामा थुनेर राखेका छन् । त्यहाँ ७ सयमध्ये ३ सयजना महिला पनि छन् । यी तीनै वटा कम्पनी सेल्स कम्पनी हुन् ।

नेपालबाट सुरुमा साउदी जाँदा समासको कम्पनीले कइफेर र विञ्जाभर कम्पनीलाई केही नेपाली कामदार दिएको थियो । कोभिड–१९ को कारण काम नचलेपछि फेरि ती दुई कम्पनीले समासको कम्पनीलाई नेपाली कामदार फिर्ता गरिदिएका थिए ।

अहिले सबै नेपाली ७ महिनादेखि घर फर्किने लाइनमा समासको कम्पनीको कोठामा थुनिएर बसेका छन् । नेपाली राजदूतावास रियाद साउदी अरेवियामा पटक–पटक उद्धारको लागि आग्रह गर्दा पनि बेवास्ता गरेको त्यहाँका नेपालीहरूले टेलिफोन गरी दुःखेसो पोखेका छन् ।

एउटा कोठामा ८० देखि ९० जनासम्म राखेका छन् । भरपेट खान नदिएको र भनेको बेला पानी पनि खान नदिएको एक नेपालीले बताए । कम्पनीको मान्छेले खाजाको रूपमा बिहान दुईवटा रोटी, दिउँसो २ बजे थोरै थोरै प्याकिङ खाना र राति ८ बजे फेरि प्याकिङ खाना ल्याइदिने गरेका छन् । तर प्याकिङ खाना भने थोरै हुने भएकोले थप्न पनि पाइँदैन र खाना पनि धेरैबेर लाइनमा बसेर मात्र पाइने झापाका विदुर तामाङले बताए ।

‘खानासँग पानी खान पाइँदैन, कम्पनीले खाना मात्र दिएर राखेको छ, थप किनेर खाने यहाँ कसैसँग पैसा पनि छैन’ उनले फोन सम्पर्कमा भने । ‘घरबाट पैसा माग्दा पनि पठाइदिँदैनन्, खान नपाएर सबैको ज्यान घटेर हड्डी र छाला मात्र भएको छ’–झापाका कुमार राईले भने ।

अहिले दैनिक ३ हजार नेपालीले कम्पनी र नेपाली राजदूतावासको विरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरूले घर जाने टिकट दे, हामीलाई छिटो घर पठाइदे, भरपेट खाना र पानी दे भन्दै आन्दोलन गरिरहेका छन् ।