पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा समुदायको ‘कन्ट्रयाक ट्रेसिङ’ सहित क्वारेन्टिनमा रहेका गरी ८२ जना सवैको कोरोना पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
भदौ १६ गते क्वारेन्टिनका ५ र समुदायस्तरमा कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ मार्फत ७७ जनाको स्वाब परीक्षणमा पठाइएकोमा कसैमा पनि कोरोना नदेखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।
समुदायस्तरका ३ जनामा कोरोना भाइरस देखिएको र एकजनामा मृत्युपछि संक्रमण पुष्टि भएपछि नगरमा ‘कन्ट्रयाक ट्रेसिङ’ गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब पठाइएको थियो । जसमा ‘कन्ट्रयाक ट्रेसिङ’ का आधार भदौ १७ गते पनि ९० जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ । त्यसको भनें रिपोर्ट आउन बाँकी रहेको छ ।
हाल जारी रहेको बन्दाबन्दी (लकडाउन) अव आउने पछिल्लो रिपोर्टका आधारमा के हुने भन्ने निर्णय गरिने नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले बताए । स्वाबको रिपोर्ट आएपछि रिपोर्टको अवस्थाको आधारमा लकडाउन हट्ने वा स्वरुप परिवर्तन हुने बारे निर्णय हुनेछ । रिपोर्ट नआउन्जेलसम्म लकडाउन निरन्तर रहने छ । भदौ १७ सम्म सारिएको लकडाउन यी दूवैदिनका रिपोर्ट नआएसम्मका लागि निरन्तरता दिइएको छ ।
यसअघि १ जना भारतीय सहित १५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् भनें पछिल्लो पटकका ७ जना गोठगाउँस्थित कोभिड अस्पतालमा छन् । त्यस बाहेक १ जनामा मृत्युपछि कोरोना देखिएको थियो ।