पाँचथर / बुधबार एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै पाँचथरमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ ।
पछिल्लोपल्ट कोरोना सङ्क्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५ बर्षीय प्रहरी जवान रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भदौ ११ गते स्वाब सङ्कलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षणका लागि पठाइएकोमा ती प्रहरी जवानको रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीका अनुसार सात जना सक्रिय सङ्क्रमितमध्ये तीन जनाको जिल्लामै र बाँकी चार जनाको मोरङको गोठगाउँस्थित कोरोना उपचार केन्द्रमा उपचार भइरहेको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । तीमध्ये आठ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । जिल्लामा फिदिम नगरपालिकाले भदौ १८ गतेसम्म सदरमुकाम फिदिम बजारमा लकडाउन गरेको छ ।