धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान–२० विष्णुपादुकामा लकडाउन भित्र दशैं अगाडि नै काठको टाँडे घर बनाउन काठ कटाउने योजना रहेको खुलेको छ ।

मेयर राईले मङ्गलबार विज्ञप्ती जारी गर्दै भालुढुंगा सामुदायिक वन क्षेत्रमा रुख काटिएको विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएपनि ब्लाष्टखबरलाई प्राप्त अडियोमा उनले स्थानीयसँग काठको खोजी गरेको प्रष्ट हुन्छ । मङ्गलबार विज्ञप्ती जारी गर्दै मेयर राईले प्रतिशोध साँध्ने उद्देश्यले आफु र वन समुहका कोषाध्यक्ष भीम बस्नेतको नाम जोडिएको दाबी गरेका छन् ।

विज्ञप्तीमा आफु र कोषाध्यक्ष बस्नेत छिमेकी भएकाले भेटघाट हुनु सामान्य भएको तर आरोप लगाइए जसरी आफुहरु वन क्षेत्र नगएको र रुख काट्ने कुरा समेत नभएको उल्लेख गरिएको छ । तर ब्लाष्टलाई प्राप्त अडियोमा उनले नाम तोकेरै भनेका छन् ‘मैले भीम दाईलाई पनि भनें, उहाँले त्यता त धेरैै कुरा मिलाउनु पर्छ बरु मनिताकोमा छ भन्नु भयो । म मनिताकोमा पनि गएँ, त्यहाँपनि पोचा परेको रहेछ ।’

अडियोमा उनले जग्गा, घर र काठका विषयमा कुरा गरेका छन् । उनले आफ्नो परिवार ठूलो भएकाले घर बनाउनु पर्ने र त्यसकालागि काठ चाहिएको उल्लेख गर्दै भनेका छन्, ‘मैले यो विषयमा बाजेसँग पनि भनें, ढलापडा छन् कि भनेर, ढलापडा रहेछ १५/२० किवी पनि आउँदैन । एउटा रहेछ तर पोचा परेको । त्यो काट्ने मान्छेले पनि काट्न मान्दैन रहेछ ।’ उनले अगाडि भनेका छन, ‘मैले फर्मको मान्छेलाई त गाली पनि गरें । विष्णुपादुकाको नाम बेचेर करोडौं अनुदान लिने अनि काम नगर्ने, भोलि अनुदान त तपाईं हाम्रो नाममा आएको हो नि त विष्णुपादुकाको नाममा । विष्णुपादुकाको नाममा के एन्ड के फर्म छ त्यहाँ दे अनुदान भनेर तपाईले माग्नुस् त पाउँदैन नि ।’

उनले आफु व्यापारी नभएकाले काठ काट्नेलाई हजार, बाह्र सय दिन नसक्ने भन्दै भनेका छन्, ‘म त पाँच सय भन्दा बढी दिन सक्दिंन । म व्यापारी भए त हजारले पनि दिन्थें होला, १२ सयले दिन्थें होला । तर म त आफ्नो घर बनाउने दाजुभाईले सहयोग गर्नु प¥यो, ५ सय भन्दा बेसी दिन सक्दिंन म । नत्र कटाउँदिन पनि बोकाउँदिन पनि भनें मैले ।’ उनले आफुलाई ईटाको होईन टाँडे घर बनाएर गाउँमा बस्न मन रहेको बताएका छन् । सुकेको काठ वनमा नपाईएको र भेटिएको पनि पोचा भएको उल्लेख गर्दै आफुले काठ काट्ने मान्छे ल्याएको पनि अडियोमा बताएका छन् ।