इनरुवा/ प्राप्त पछिल्लो रिपोर्ट अनुसार इनरुवाबाट स्वाब संकलन गरिएका मध्ये आज एकैसाथ २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार अस्तपतालबाट स्वाब संकलन गरिएका मध्ये २१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरु सबै जिल्ला प्रहरी कार्यालय इनरुवा मार्फत् स्वाब परीक्षण गरिएकाहरु भएको स्वास्थ्य अधिकृत दिक्षा श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार उनीहरुको घरको ठेगाना भने फरक-फरक रहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार प्रहरीबाट स्वाब संकलन गरी परीक्षण गरिएकाहरु मध्ये धेरैजसो थुनुवा रहेको बताइएको छ ।

त्यसैगरी इनरुवा नगरपालिकाको वडा नम्बर ६ बाट स्वाब संकलन गरिएका मध्ये रिपोर्ट आउन बाँकी रहेका ९ जना मध्ये आज ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जसमा वडा नम्बर-६ का दुई जना छन् भने एकजना वडा नम्बर-५ का रहेका छन् । मधेशाका दुई मध्ये एक अढाई महिने बालिकामा समेत कोरोना संक्रमण देखा परेको छ ।

स्वास्थ्य शाखा इनरुवाका अधिकृत सन्तोष देवका अनुसार मधेशा ६ बाट स्वाब संकलन गरिएका अझै ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार इटहरीमा समेत ५ जनामा कोरोना पुष्टि भएको छ ।