यासोक/ तमोर तटीय क्षेत्रका किसान आजभोलि व्यस्त छन् । बारीको मकै भाँच्ने, कोदो रोप्ने र खनजोत गर्ने कामले फुर्सद छैन किसानलाई ।

मौसमले साथ दिएपछि मकैको उत्पादन बढेको छ भने अन्य बालीनाली र बोट बिरुवा पनि हुर्किएका छन् । सुख्खा डाँडाकाँडाहरू हरियालीमा परिणत भएका छन् । पाँचथरको तुम्बेवा गाउँपालिकामा आजभोलि यस्तै दृश्य देख्न पाइन्छ ।

बर्सेनि खडेरीको मारमा परेका किसानहरू यस पटक भने हर्षित देखिन्छन् । बर्सेनि खडेरी र विभिन्न रोगको प्रकोपका कारण भोकमरीको समस्या भोग्दै आएका किसान खाद्यान्नमा आत्मनिर्भर भएका छन् । ‘गतवर्ष खडेरीले लगाएको अन्नबाली नष्ट भयो । मकैको बिउसम्म थिएन’ तुम्बेवा–१ का सन्तबहादुर तामाङ भन्छन्, ‘खडेरीले बारीमै मकै सुकेपछि बिहान बेलुकाको छाक टार्न धौ–धौ थियो । गाउँपालिकाले दिएको बिउ र विषादी लगाएपछि निरन्तर पानी पर्न थाल्यो । अहिले राम्रो मकै फलेको छ । यो मकैले २ वर्षसम्म खान पुग्छ ।’

गाउँपालिकाको आङ्ना, वलने, चुवाडेजस्ता तमोर तटीय क्षेत्रमा मकैको उत्पादन यस वर्ष बढेको छ । समग्रमा गाउँपालिकाको ५ वटै वडामा मकै उत्पादन राम्रो भएको स्थानीयले जनाएका छन् । गतवर्ष खडेरीले मकैको बिउसमेत मासिएको थियो । गाउँपालिकाले प्रभावित क्षेत्रका २ हजार २ सय बढी घरधुरीलाई मकैको बिउ वितरण गरेको थियो । कार्यालयले ११ लाख बढी रकम खर्च गरी १ सय ७० क्विण्टल मकैको बिउ खरिद गरी किसानलाई अनुदानमा वितरण गरेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । त्यस्तै मकैको बिरुवामा फौजी किराको प्रकोप बढ्न थालेपछि ५ लाख रुपैयाँको विषादी खरिद गरी किसानलाई वितरण गरिएको अध्यक्ष थापाको भनाइ छ ।

त्यस्तै जिल्लाको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकमा पनि यस वर्ष मकैको उत्पादन सन्तोषजनक भएको किसानले जनाएका छन् । बर्सेनि खडेरीको मारमा परेको कुम्मायकको यासोक, रानीगाउँ, स्यावरुम्बा र माङ्जाबुङ क्षेत्रमा मकैको उत्पादन राम्रो देखिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउँपालिकाले गर्तवर्ष खडेरी प्रभावित २ हजार ३ सय ५० घरधुरीलाई मकै र बदामको बिउ वितरण गरेको थियो । कार्यालयले १ हजार ७ सय ७४ घरधुरीलाई ११ हजार ४ सय केजी मकै र ५ सय ७६ घरधुरीलाई ४४ मुरी बदामको बिउ वितरण गरेको चेम्जोङको भनाइ छ । त्यस्तै फौजी किरा नियन्त्रण गर्न विषादी खरिद गरी किसानलाई अनुदानमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बर्सेनि खडेरीका कारण प्रदेश नम्बर १ को पाँचथर, तेह्रुथुम र धनकुटा जिल्लाका किसानले मकैको बिउसमेत गुमाएका थिए । खडेरी र फौजी किराको प्रकोपले खाद्य सङ्कट दोहोरिएको थियो । तर अहिले किसानको बारीमा मकैको उत्पादन राम्रो भएसँगै उत्साहित बनेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ सालको खडेरीले पाँचथर, तेह्रथुम र धनकुटा जिल्लाका तीन हजार चारसय ८३ घरधुरी प्रभावित भएका थिए । किसानले लगाएको बाली खडेरीले नष्ट भएपछि खाद्य सङ्कट बढेको थियो । खडेरी प्रभावित क्षेत्रमा खाद्यान्न सङ्कट टार्न स्थानीय सरकार र प्रदेश सरकारले एक करोड ८८ लाख ४० हजार राहत वितरण गरेको थियो । तर यो वर्ष निरन्तर वर्षा भएसँगै सुख्खाक्षेत्रमा मकै उत्पादन राम्रो भएपछि किसानहरू उत्साहित भएका छन् ।