धनकुटा/ भारी वर्षाको कारण जोखिमयुक्त बन्दै गएको कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक–खण्डको खुरिलामा सडक विभागले भासिएको सडक मर्मत गर्न थालेको छ ।

धरान–धनकुटा सडक–खण्डको खुरिलामा नियमितरूपमा परिरहेको भारी वर्षाको कारण करिब १ महिना अघिदेखि सडक भासिएको थियो । डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानबहादुर शाक्यले सडक जति मर्मत गरे पनि निरन्तररूपमा सडक बगिरहेकाले जोखिम कायमै रहेको बताए । उनले एक महिनाको अवधिमा सडक झण्डै ५ मिटरभन्दा बढी भासिएको बताए ।

करिब १ सय मिटरभन्दा बढी सडक भित्ता तासेर वा बाहिरबाट ग्राभेल ल्याएर सडकलाई लेभल गरे पनि बग्ने क्रम जारी रहेकोले खुरिला सडक–खण्डमा जोखिम कायम रहेको प्रमुख शाक्यले बताए । आफूले आफ्नै निगरानीमा ३–४ दिन यता नियमित सडक विस्तार गर्ने, भित्ता काट्ने र भासिएको सडकमा अन्यत्रबाट ग्राभेल ल्याएर भरे पनि सडक बग्ने क्रम नरोकिएको शाक्यले बताए । करिब एक हप्तादेखि सो क्षेत्रमा सडक विभागले डोजर परिचालन गरिरहेको छ ।

वर्षा बढी मात्रामा भएकै कारण सडक जोखिम भए पनि आवत–जावत गर्न भने हालसम्म समस्या नरहेको बताइएको छ । अचानक भारी वर्षा भएमा पूरै भासिएको सडक सोहोरिएर गएको खण्डमा भने यातायात अवरुद्ध हुनसक्ने बताइएको छ । यसअघि वि.सं.२०५८/०५९ सालमा पनि उक्त सडक सोही स्थानमा भासिएको स्थानीयले बताएका छन् । धनकुटा नगरपालिका वडा नं.९ को खुरिलामा पर्ने सो सडक करिब १ सय मिटर लामो भासिएको हो ।

सडक भासिएसँगै भारी गाडी आवत–जावत गर्न दिन प्रतिदिन जोखिम थपिएको थियो । सडक विभागले भासिएको सडकलाई भित्ता काटेर र बाहिरबाट ग्राभेल भरेर केही हदसम्म सवारी साधन आवत–जावतमा सहजता दिलाएको छ । तथापि पनि धेरै भारी गाडीहरूलाई भने सो सडकमा जोखिम हुने बताइएको छ ।

स्थानीयले सडक भासिएको स्थानमा कमेरे माटो र पानी उम्रिने सिमसार क्षेत्र भएकोले नियमित वर्षाले गर्दा सडक भासिने क्रम नरोकिएको बताए । सडकको भित्तातर्फ माथिदेखि नै जमिन सोहोरिएर आएकाले त्यसमाथिको बस्तीमा समेत जोखिम बढेको छ ।

सडक भासिएसँगै सो सडकको छेउतर्फ गाडिएको ३–४ वटा विद्युत्का पोल विद्युत् प्राधिकरण धनकुटाले अन्यत्र स्थानान्तरण गरिसकेको छ । सडकमा पहिरो जान थालेपछि विद्युत्का पोलसमेत बाङ्गिएका थिए । त्यसैगरी केही महिनाअघि नेपाल टेलिकमले बिछ्याएको फाइबर लाइनको १ सय मिटर सडकको भित्ताको नालीमा ओछ्याइएको तार पनि सडक मर्मतको क्रममा काटिएको छ ।

सडक भासिँदै गएपछि सडकमा बिछ्याइएको नेपाल टेलिकमको फाइबर लाइनको तारमा समस्या उत्पन्न हुने भएपछि काटिएको फाइबर लाइन सुपरभाइजर विनोद पोख्रेलले बताए । सडक बग्ने र भासिने क्रम कहिले रोकिने भन्ने केही थाहा नभएको पोख्रेलले बताए । सडक भासिएको विषयमा यसअघि पनि ब्लाष्ट टाइम्स दैनिकले समाचार लेखेको थियो ।