धरान । धरानका थोक व्यापारीले टमाटरमा ब्रम्हलुट गरेपछि धरान उपमहानगरपालिकाको अनुगमन समिति ‘टमाटर पकेट क्षेत्र’ मा पुगेर अध्ययन थालेको छ ।

धनकुटा–९ बेलहारा क्षेत्रबाट प्रतिकेजी ८० रुपैयाँमा पाउने टमाटर धरान आइपुग्दा थोक मूल्य (होलसेल) मै एक सय १० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको पाइएपछि सम्बन्धित क्षेत्रमा पुगेर अध्ययन थालेको हो । अध्ययनको क्रममा प्रतिकेजी ८० रुपैयाँमा पाउने टमाटर एक सय १० रुपैयाँ पुग्नुमा ‘तीन तहको विचौलिया’ का कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । एक विचौलियाले प्रतिकेजीमा १० देखि १५ रुपैयाँसम्म मुनाफा निकाल्ने कारण धरान आइपुग्दा एक सय १० रुपैयाँ प्रतिकेजी पुगेको समितिको ठम्याइ छ ।

अनुगमन समितिका सहसंयोजकसमेत रहेका धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेको नेतृत्वमा टमाटर पकेट क्षेत्र धनकुटाको गुठीटार र पात्लेखोला पुगेको थियो । समितिले किसान तथा स्थानीय व्यापारीसँग बुझ्दा किसानले प्रतिकेजी ७५ रुपैयाँसम्म पाएको समितिका सदस्यसमेत रहेका धरान कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।

महँगो मूल्यमा बिक्री भइरुहेको पाइएपछि धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले शुक्रबार व्यापारीहरूलाई तत्काल टमाटर बिक्री नगर्न निर्देशन दिएको थियो । अधिकृत सापकोटाका अनुसार शनिबार सम्बन्धित क्षेत्रमा पुगेर अध्ययन गर्दा किसानले प्रतिकेजी ६० रुपैयाँसम्म पाउने गरेको र विचौलियाका कारण महँगो पर्ने गरेको बुझियो ।

‘यहाँ आइपुग्दा ११० रुपैयाँ नपर्नुपर्ने हो भन्ने हाम्रो निष्कर्ष रह्यो,’ उनले फोन सम्पर्कमा भने, ‘व्यापारीहरू नै बढी पुग्ने भएकाले मोलमोलाइ बढी भएको देखियो, तर पनि ८० रुपैयाँसम्म प्रतिकेजी त्यहाँ पर्ने देखियो ।’

ब्लाष्ट दैनिकले शनिबारको अङ्कमा थोक व्यापारीले टमाटरमा ब्रम्हलुट गरेको समाचार प्रकाशित भएपछि धरान उपमहानगरको अनुगमन समिति सम्बन्धित क्षेत्रमा पुगेर किसान तथा स्थानीय व्यापारीहरूसँग बुझेका थिए । बेलहारा क्षेत्रबाट दैनिक ५० टन टमाटर पूर्वी सहरमा आइपुग्ने गरेको छ । धरानका व्यापारीहरूले पनि सोही क्षेत्रबाट टमाटर ल्याउने गरेका छन् । त्यहाँका किसानले पनि थोक मूल्यमै ११० रुपैयाँ प्रतिकेजी भएकोप्रति बढी नै मूल्य लिएको दाबी गरेका थिए ।

धरान उपमहानगरको अनुगमन समितिले शनिबार बिहान छलफल गर्दै टोली धनकुटाको हिलेसम्म पुगेको थियो । टोलीमा सहसंयोजक काफ्ले, अनुगमन अधिकृत सापकोटा, सदस्य काजी गिरी, लक्ष्मण भट्टराई, सशस्त्र प्रहरी बल फुस्रको डिएसपी सुमन पोखरेल रहेका थिए ।