धनकुटा/ राणा शासन अन्त्य गर्न आन्दोलित बनेका जनमुक्ति सेना जसबहादुर माङयक लिम्बूको ९० वर्षको उमेरमा निधन भएको छ ।

करिब डेढ वर्षदेखि बाथको बिरामले खुट्टाको घुँडा नचल्ने भई थलिएका मुक्तियोद्धा जसबहादुरको सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो । उनको पार्थिव शरीरलाई सोमबार अपरान्ह ४ बजे धनकुटाको मूलघाटस्थित विश्रान्तिमा किरात धर्म, संस्कार र परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सामाजिक सङ्घ–संस्थाका अगुवा, भूपू सैनिक सङ्गठनका पदाधिकारी एवम् सदस्यहरू, किरात धर्म तथा साहित्य उत्थान सङ्घ धनकुटाका पदाधिकारी एवम् सदस्यहरू र ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी एवम् सदस्यलगायत सयौंको सङ्ख्यामा मलामीजन सहभागी भएका थिए ।

वि.सं.१९८७ साल भाद्र १० गते छथरथुमको साविक हात्तीखर्क गाविस–२ हालको छथरजोरपाटी गाउँपालिका–१ हात्तीखर्कमा जन्मिएका जसबहादुर २०१८ सालदेखि धनकुटा नगरपालिका–७ मोती टोलमा परिवारका साथ बस्दै आएका थिए । लिम्बूले २००७ सालअघिको राणा विरोधी अभियानमा जनमुक्ति सेनामा कार्यरत रहेर पूर्वी नेपालको मोरङ, सुनसरी र धनकुटामा कार्यथलो बनाई काम गरेको भूपू सैनिक सङ्घ धनकुटाले जनाएको छ ।

स्वर्गीय लिम्बू २०११ सालमा राष्ट्रिय सुरक्षा दल गठन भएपछि त्यहाँ आबद्ध भएर काम गरिरहेका बखत वि.सं.२०१५ सालमा नेपाली सेनामा समायोजन भएर देशको सेवा गरेका थिए । उनी नेपाली सेनामा समायोजन हुँदा जमदार पदमा बहाली भएका थिए ।

करिब १६ वर्षसम्म नेपाली सेनाको जमदार पदमा कार्यरत रही २०३१ सालमा उनी सेवानिवृत्त भएको भतिज नरबहादुर माङ्यकले बताए । नेपाली सेनाबाट सेवानिवृत्त भएपछि नेपाल परिवार नियोजन सङ्घ धनकुटामा १० वर्ष सेवा गरेका थिए भने राष्ट्रिय भूपू सैनिक सङ्गठन धनकुटाका जिल्ला सल्लाहकार भएर काम गरिरहेका थिए ।

त्यसैगरी किरात धर्म तथा साहित्य उत्थान सङ्घ धनकुटा नगर समितिको पूर्व अध्यक्ष, धनकुटा न.पा.७ मोती टोलबस्ती सङ्गठनका निवर्तमान अध्यक्ष र नगरक्षेत्रकै ज्येष्ठ नागरिकमध्येका अग्रज भई ज्येष्ठ नागरिक सङ्घमा समेत आबद्ध भएर सेवा गरिरहेका थिए । उनले नेपालमा २०४६ मा प्रजातन्त्र आएपछि जातीय मुक्ति आन्दोलनको नेतृत्व गर्दै ०४८/४९ मा राष्ट्रिय जनमुक्ति पार्टीमा आबद्ध भएर काम गरेका थिए । पछिल्लो समयमा भने उनी राप्रपा पार्टीमा आबद्ध थिए । हाल उनका एक श्रीमती, १ छोरा र २ छोरी रहेका छन् ।