ताप्लेजुङ/ वन संरक्षण र भौतिक पूर्वाधार विकासलाई समान रूपमा लैजानु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घद्वारा आइतबार ताप्लेजुङमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् । पछिल्लो समय भौतिक पूर्वाधार विकासका क्रममा हुने विनाशले वन संरक्षणमा चुनौती थपिरहेको बेला विकास र संरक्षणलाई समान रूपमा अघि बढाउनु पर्नेमा सहभागीहरूको जोड थियो ।

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले वन संरक्षण र भौतिक पूर्वाधार निमार्णलाई नीतिगत रूपमा समेट्दै प्रदेश वन ऐन पनि आएको बताए । ‘हामीले प्रदेशसभामा पनि व्यापक छलफल गरेका छौँ’ साम्सोहाङले भने, ‘विकास पनि अहिलेको आवश्यकता हो । विकास र संरक्षणबीच देखिएको खाडललाई अन्त्य गर्न प्रदेश सरकार पनि लागिपरेको छ ।’ उनले वनको दिगो व्यवस्थापन पनि अहिलेको आवश्यकता रहेको बताए । सामुदायिक वनलाई संरक्षण गर्नेमात्र नभई त्यसलाई आम नागरिकको आय आर्जनमा पनि जोड्नुपर्ने उनको भनाइ थियो ।

यता प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पर्यटन विकासका लागि पनि सामुदायिक वनको उत्तिकै भूमिका रहने उल्लेख गरे । उनले वनक्षेत्रमा विकास निर्माणका काम गर्दा तयार गरिने विस्तृत परियोजना प्रतिवेदनमा नै वातावरणीय प्रभावलाई समेत समावेश गरी सोही अनुसार मात्र काम गर्नुपर्ने उनले बताए ।

‘संरक्षणका नाममा विकासको बाधक पनि बन्नु हुँदैन’ प्रजिअ निरौलाले भने, ‘न्यून क्षतिमा धेरै विकास गर्ने खालका योजना ल्याउनुपर्छ र यसलाई स्थानीयको आर्थिक उपार्जनमा पनि जोड्नुपर्छ ।’ डिभिजन वन अधिकृत वीरेन्द्र साहले वनको दिगो व्यवस्थापन आजको प्रमुख आवश्यकता रहेको बताए । यस्तै कञ्चनजङ्घा संरक्षण क्षेत्रका वार्डेन गणेशप्रसाद तिवारीले वन र वन्यजन्तुलाई समान रूपमा संरक्षण गर्नुपर्ने बताए ।

यस्तै देउराली भित्री सामुदायिक वनका सचिव पासाङरिता शेर्पाले सामुदायिक वनभित्र भौतिक पूर्वाधार निर्माणका नाममा अनावश्यक वन फँडानी गर्दा आफूहरूले रोक्न जाँदा विकास विरोधीका रूपमा प्रचार गरेको बताउँदै उनले यस्तो समस्यालाई नीतिगत रूपमा नै समाधान गर्नुपर्ने बताए ।

उनले आफूहरू विकास विरोधी नभएको तर विस्तृत योजना बिना नै वनक्षेत्रमा डोजर चलाए त्यसको अवरोध भने गर्ने उनको भनाइ थियो । यता सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाले विकासलाई वैज्ञानिक रूपमा अघि बढाउनु पर्ने बताए । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारले भूमिका निर्वाह गरिदिन आग्रह समेत अध्यक्ष ओझाले गरे ।

३ सामुदायिक र २ निजी वन सम्मानित
डिभिजन वन कार्यालय ताप्लेजुङले जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने तीनवटा सामुदायिक वन र दुई निजी वनलाई सम्मान गरेको छ । जिल्लाभरिका १ सय १७ सामुदायिक वनमध्ये उत्कृष्ट काम गर्ने फुङ्लिङ नगरपालिकाको देउराली भित्री सामुदायिक वन, मिक्वाखोला गाउँपालिकाको लालीगुराँस सामुदायिक वन र मेरिङ्देन गाउँपालिकाको मूल्मीच्याङ सामुदायिक वनलाई नगदसहित आइतबार सम्मान गरेको हो ।

ती सामुदायिक वनलाई क्रमशः १५ हजार, १० हजार र ८ हजार नगदसहित प्रमाण–पत्र प्रदान गरिएको डिभिजन वन अधिकृत साहले जानकारी दिए । यस्तै फुङ्लिङ नगरपालिकाका निजी वन धनी गणेश मादेन र पाथीभरा याङ्वरक गाउँपालिकाका खड्गबहादुर पौडेललाई समेत सम्मान गरिएको छ ।

मादेनलाई १५ हजार र पौडेललाई १० हजार नगद सहित प्रमाण–पत्रले सम्मान गरेको डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत तथा सूचना अधिकारी चन्द्र राईले जानकारी दिए । उनीहरूलाई जिल्लामा रहेको ६ वटा सवडिभिजनको सिफारिस र जिल्लास्तरीय छनौट समितिको निर्णयका आधारमा पुरस्कृत गरिएको राईले बताए ।