भद्रपुर/ हल्दबारी गाउँपालिकाको सातौं गाउँसभाको दोस्रो बैठक बिथोलिएको छ । बैठकमा कोरम नपुगेपछि अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बैठक स्थगित गरेको जानकारी दिएर बाहिरिएपछि बैठक बिथोलिएको हो ।

बैठकको शुरुमै अध्यक्ष लिङ्देनले माइन्यूट ल्याई सबै जनप्रतिनिधिहरूलाई हस्ताक्षर गर्न लगाउँदा अध्यक्षसहित ७ जनाले उपस्थिति जनाएको र उपाध्यक्ष डम्बरबहादुर गिरीसहित २२ जनाले नमानेपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

गाउँपालिका अध्यक्ष लिङ्देनले पहिलो बैठकमा पेश भएको बजेट, नीति तथा कार्यक्रममाथिको दफावार छलफलबाट दोस्रो बैठक प्रारम्भ गर्ने गरी कार्यसूची बनाएका थिए । तर, त्यसलाई उपाध्यक्ष गिरीसहित नेकपा समर्थक जनप्रतिनिधिहरू मान्न तयार नभएपछि बैठक अन्यौल देखिएको छ ।

असार १० गते पहिलो गाउँसभाको बैठकमा विवाद भएपछि सहमतिमा पुग्ने गरी औपचारिक र अनौपचारिक बैठक तथा छलफल भए पनि समाधान हुन नसकेपछि विवादका बीच अध्यक्षले गाउँसभाको दोस्रो बैठक सोमबार दिउँसो १ बजे बोलाएका थिए । निर्धारित समयभन्दा केही ढिलो गरी बैठक शुरु भएको थियो ।

बैठकमा पहिले उपस्थिति गराउने अनि बैठक प्रारम्भ हुने भनाइलाई गिरीसहितका पदाधिकारीहरूले नमानेपछि बैठक सुचारु नभएको लिङ्देनको भनाइ छ । बैठकको कोरम नै नपुगी छलफल गर्नुको कुनै औचित्य नभएको उनको भनाइ छ ।

कानूनभन्दा बाहिर जाने अधिकार नभएकोले कानूनले जे भन्छ, त्यही गर्नुपर्ने उनले बताए । ‘सहमतिका लागि हाम्रो तर्फबाट जति नै लचिलो बने पनि उहाँहरूको हठका कारण गाउँपालिका एक महिनादेखि अनिर्णयको बन्दी भएको छ’–उनले भने ।

आफूमाथि साङ्घातिक आक्रमण गरी बैठकबाट भगाएर उपाध्यक्ष गिरीले कानूनमा अध्यक्षले गर्न पाउने बजेट प्रमाणीकरणको अधिकार दुरुप्रयोग गरेकाले सच्याउनु पर्ने उनको भनाइ छ । उपाध्यक्षले पहिलो बैठकमा बजेट, नीति तथा कार्यक्रम पेश गरिसकेकाले अब त्यसपछिको अवस्थाबाट निरन्तरता दिन उचित हुने आफ्नोे अडान कायमै राखेका छन् ।

‘बैठक शुरु नै नभई स्थगित भन्दै अध्यक्ष बैठक कक्षबाट बाहिरिनुभएको थियो’–उपाध्यक्ष गिरीले भने । अध्यक्षकै कारण गाउँपालिकाका जनताले दुःख पाएको उनको आरोप छ । पहिलो बैठकजस्तै आफ्नो अध्यक्षतामा बैठक प्रारम्भ गर्नका निमित्त कानूनी कुरा अध्ययन गरिहेको उपाध्यक्ष गिरीको भनाइ छ । अध्यक्ष नभएका बेला कानूनले उपाध्यक्षलाई अध्यक्षताको अधिकार दिएको प्रष्ट पार्दै बहुमतले गरेको निर्णय कसैको जिद्दीमा नउल्टिने उनी बताउँछन् ।

अध्यक्ष र उपाध्यक्षका आ–आफ्ना अडानका कारण सेवा ठप्प भएकोले वडाबाट निर्णय गरेर सेवा शुरु गरिने ४ नम्बर वडाध्यक्ष होमप्रसाद चूडालले बताए । समस्या हटाएर तुरुन्त निकास दिन उनले अनुरोध गरेका छन् । हलो अड्काएर गोरू चुट्ने काम भइरहेकाले आ—आफ्ना कमजोरी सच्याएर अविलम्ब परिषद् बैठक सम्पन्न गर्नुपर्ने उनी जनाउँछन् । नागरिकका काम रोकेर रमिता देखाइनु विडम्बना भएको उनको भनाइ छ ।

यस्तै वडानम्बर १ का वडाध्यक्ष त्रिलोचन सापकोटा अध्यक्ष आफैले बोलाएको बैठक प्रक्रियागत रूपमा शुरू नै नगरी कोरम नपुगेको बहाना बनाएर स्थगन गर्नु बहुमतको अपमान भएको तर्क गर्छन्