भण्टाबारी/ चार महिना लामो लकडाउन खुलेपछि कोशी गाउँपालिका–८ भण्टाबारीस्थित मुसहर टोलका असरफी ऋषिदेवलाई अब जीवन केही सहज होला भन्ने लागेको थियो ।
तर पुनः लकडाउन भएपछि उनलाई समस्यामाथि समस्या थपिएको छ । ‘घरमा खानेकुरा केही छैन, पैसा पनि छैन’ उनले गुनासो गरे, ‘घरबाट ननिस्कन भन्छन् सबैले, रोगले भन्दा भोकले मरिने चिन्ता छ ।’
माछा मारेर आठ जनाको परिवार पाल्दै आएका असरफीले पहिलोपटक लकडाउन हुँदा छरछिमेकीबाट सापटी लिएर जेनतेन परिवार पाल्दै आएका थिए तर फेरि लकडाउन भएपछि केही दिनयता भोकभोकै बस्दै आएको दुःखेसो पोखे ।
कोरोना भाइरसबारे बेखबर देखिएका असरफीले भने, ‘हामीलाई सरकारले किन घरमै बन्द गरेको छ ? के–के भाइरस भन्छ थाहा छैन ।’ असरफीको जस्तै गुनासो सुनाउने धेरै विपन्न भेटिन्छन् गाउँमा । दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएकाहरूलाई काम गर्न नपाउँदा छाक टार्न धौ–धौ परेको छ । स्थानीय फुलोदेवी सदाले पनि यस्तै समस्या भोगिरहेकी छन् । ‘सबैलाई घरमा बन्द गरिदिएको छ, यस्तो बेलामा गरिबले के खाने ?’ उनी प्रश्न गर्छिन्, ‘साबुनपानीले हात धुनु भन्छन्, एक छाक के खाने भन्ने चिन्ता छ । कहाँबाट साबुन किन्ने पैसा ल्याउने ?’
उनी कि त काम गर्न जान दिनुपर्ने नत्र सरकारले खानेकुराको व्यवस्था गर्नुपर्ने बताउँछिन् । सरकारले चारमहिने लकडाउनका बेला राहतमा १५ किलो चामल, पाँच किलो दाल, चिनी दिएको उनले बताइन् । तर, उनले आफ्नो नौ सदस्यीय परिवारलाई १० दिन पनि त्यो राहत सामग्रीले गुजारा नचलेको बताइन् ।
किराना सामान तथा तरकारी बजारमा पाइने मूल्यभन्दा दोब्बरमा बिक्रीवितरण भइरहेको हुँदा जीवनयापन गर्न थप समस्या भएको अर्का स्थानीय वीरेन्द्र सदाको भनाइ छ । ‘हुनेखानेलाई जति दिन बन्द भए पनि केही समस्या हुँदैन’ उनले भने, ‘तर, हामी हुँदाखानेहरूले के खाने ?’ दैनिक ज्यालादारी गरेर एक छाक टार्ने गरेकोमा पछिल्लो समय घरमै बस्नु पर्दा जीविका चलाउन समस्या भएकोले उनले सहयोगको अपिल गरेका छन् ।
कोरोना भाइरसबाट सर्वसाधारणलाई बचाउन लकडाउन गरिए पनि दलित तथा गरिब समुदाय चेतना अभावमा यसबारे बेखबर छन् । ती बस्तीमा सदा, ऋषिदेव, मुखिया समुदायका करिब १ सय घरपरिवार रहेका छन् भने कोशी गाउँपालिका क्षेत्रमा विपन्न समुदायको उल्लेख्य बसोबास रहेको छ । कोशी गाउँपालिकासहित जिल्लाका स्थानीय तहहरूमा लकडाउनको दुई महिनापश्चात् राहत वितरण गरिए पनि पुनः हालको लकडाउनमा दैनिक ज्यालादारी गरी खाने वर्गलाई राहत वितरण गर्ने सम्बन्धमा तयारी गरिएको पाइँदैन ।
कोरोना भाइरसबाट सङ्क्रमित तथा मृत्यु हुने व्यक्तिको सङ्ख्या बढिरहँदा सरकारले सीमा नाकामा अत्यावश्यक खाद्य सामग्रीबाहेक आवत–जावतमा रोक लगाएको छ भने सर्वसाधारणलाई आवश्यक कामबाहेक घरबाट ननिस्कन तथा भीडभाड नगर्न आग्रह गरेको छ ।
कोरोना भाइरसबाट बच्न सावधानी र सतर्कता अपनाउन आग्रह गर्दै सुनसरी प्रशासनले गत बुधबारबाट निषेधाज्ञा जारी गरेको छ । गाडी नचल्दा अधिकांश क्षेत्रका सडक सुनसान छन् भने जिल्लाका अधिकांश क्षेत्रमा सर्वसाधारण घरमै बसिरहेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत्र ११ देखि साउन ६ गतेसम्म लकडाउन ग¥यो । सङ्क्रमितको सङ्ख्या बढिरहँदा देशैभर १ सय २० दिन लामो लकडाउन सरकारले अन्त्य भएको घोषणा गर्दै सङ्क्रमण नियन्त्रण गर्नका लागि लकडाउन गर्ने अधिकार हाल स्थानीय तहलाई दिएको छ ।