धरान/ धरानको औद्योगिक क्षेत्रस्थित प्रिती भल्भ एण्ड फिटिङ्स इण्डष्ट्रिजमा अडिटरका रूपमा कार्यरत धरान–१३ का २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएसँगै धरानमा समुदायस्तरमा कोरोना फैलिन शुरु भएको छ ।
९ दिनअघि अर्थात् साउन १४ गते उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । पुष्टि भएलगत्तै धरान उपमहानगरको स्वास्थ्य महाशाखा र प्रहरीले ती युवाको ट्राभल हिस्ट्री खोजी शुरु गरेको थियो । जसमा १६ जना पहिचान भएका थिए । उनलाई को र कसबाट सर्यो भन्ने हालसम्म स्पष्ट नखुले पनि ट्राभल हिस्ट्रीका आधारमा प्रिती भल्भमै कार्यरत एकाउण्टेण्टबाट सरेको देखिएको छ ।
‘ती युवालाई को र कसबाट कोरोना स¥यो भनेर भन्न सकिएको छैन, तर प्रिती भल्भमा काम गर्ने एकाउण्टेण्ट र अर्का कर्मचारी जनकपुर र विराटगर आउजाउ गरेको देखियो’ धरान नगरका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहता भन्छन्, ‘उनीहरूको स्वाब जाँच गर्दा उनीहरूलाई पोजेटिभ देखियो । हाम्रो अनुमान उनीहरूबाटै ती युवालाई सरेको रहेछ भन्ने आधार हो ।’
प्रिती भल्भका एकाउण्टेण्ट धेरै पटक जनकपुर आउजाउ गरेको पत्ता लागेको थियो । जसको परिवार नै कोरोनाबाट सङ्क्रमित पाइएको थियो । जहाँ दुई वर्षीया बालिकादेखि चार जनाको परिवारमा कोरोना सङ्क्रमण देखिएको थियो । त्यस्तै अर्का कर्मचारीको ट्राभल हिस्ट्रीमा विराटनगर आउजाउ गरेको देखिएको थियो । उनलाई पनि जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उनी धरान–१ लक्ष्मीचोकमा बस्दै आएका थिए । ‘कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा १५–१६ जनाको नाम पत्ता लाग्यो, जसमध्ये ६ जनामा कोरोना पोजेटिभ देखियो’–मेहता थप्छन् । धरानमा पहिलो पटक समुदायमा कोरोना फैलिएको धरान–१३ का अडिटरबाटै थाहा हुन आएको हो ।
त्यसपछि प्रिती भल्बमा संलग्नहरूको स्वाब सङ्कलन गरेर परीक्षण थालेयता दैनिकजसो कोरोना सङ्क्रमित देखिन थालेका छन् । पहिलो पटक धरान–१३ की ५१ वर्षीया महिलामा कोरोना देखिएको भए पनि उनको परिवार तथा अन्य सदस्यमा कोरोना देखिएको थिएन । उनलाई देखिएको समयभन्दा तीन महिना अगाडि मात्रै भारतको दिल्ली पुगेर आएको खुलेको थियो ।
समुदायमा कोरोना फैलिने क्रम अहिले पनि जारी छ । बुधबार आएको रिपोर्टमा पनि १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै बिहीबार धरान–२ नरेन्द्रपथमा सब्जी व्यापार गर्दै आएका व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ । २७ वर्षीय ती व्यापारी करिब २ साताअघि भारतको विहार गएर आएको खुलेको छ । स्वाब सङ्कलन गर्नुअघिसम्म उनले तरकारी बिक्री गर्दै आएको खुलेको छ । ती व्यक्तिलाई पनि समुदायमै पहिलो कोरोना देखिएको हो ।
बुधबार समुदायस्तरमा कोरोना देखिएकामध्ये धरान–३ गौधाराका एकै परिवारका ५ जना छन् । उनीहरूलाई पनि बुहारीमार्फत् कोरोना सङ्क्रमण फैलिएको पत्ता लागेको छ । बुहारी आफन्त बिरामी भएकाले धरान–८ मा हेर्न पुगेकी थिइन् । जो प्रिती भल्बमै काम गर्ने कर्मचारीको आमा हुन् । परिवारबारे जानकारका प्राप्त भएअनुसार घरकी बुहारी प्रिती भल्बका कर्मचारीका आफन्त बिरामी भएकाले भेट्न पुगेकी थिइन् । सोही कर्मचारीको आफन्तमार्फत् नै उनलाई हुँदै परिवारमा सरेको हालसम्मको कन्ट्याक्ट ट्रेसिङबाट देखिएको छ ।
परिवारसँगको सम्पर्कमा रहेका घरका भाडावाला र छोराबुहारी गरी १४ जनाको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको छ । ‘एकै परिवारका ५ जनामा कोरोना देखिएपछि भाडावाला र छोराबुहारी गरी १४ जनाको स्वाब सङ्कलन गर्ने तयारी गरिरहेका छौं’ धरान–३ का वडासदस्य विकास बनेपालीले भने, ‘तर, अहिले बिरामीहरूलाई नै बीपी प्रतिष्ठानमा बेड छैन भनेर लगेको अवस्था छैन । पहिला बिरामीहरूलाई सम्बन्धित ठाउँमा पु¥याएर मात्रै स्वाब सङ्कलन गर्ने भन्ने छ ।’