• सन्देश सुब्बा

पाँचथर / ताप्लेजुङकी सुनिता लाबुङ् पहिलोपल्ट आयोजित विश्वब्यापी अनलाइन पालाम् गायन प्रतियोगितामा प्रथम भएकी छिन् । आयोजक संस्था याक्थुङ कल्चरल ग्रुपले बिहीबार नतिजा सार्वजनिक गरेको हो ।
प्रथम भएकी सुनिताले नगद ५० हजार रुपैंयाँ प्राप्त गरेकी छिन् । प्रतियोगितामा शिवकुमार सम्बाहाम्फे द्वितीय, सुनिता सङ्यक तृतीय त्यस्तै पेपराज माबोहाङ र शान्तिराम खरेल सान्तवना भएका छन् । उनीहरुले क्रमशः नगद ४० हजार रुपैंयाँ, ३० हजार रुपैंयाँ र २० हजार रुपैंयाँ प्राप्त गरे ।

प्रतियोगितामा बिक्रम येक्तेनले सर्बोकृष्ट प्रस्तुती, इन्दिरा नेम्बाङले उदयीमान कलाकार, सुमन लिम्बूले सेहोङनाम्लाङ्, जीवन केदेमले मुक्कुम्लुङ र साँगुले ठूलेले साङ्गोती÷हाङ्गोती टाइटल जितेका छन् । त्यस्तै सुखबीर ताम्लिङ उत्कृष्ट तुम्याहाङ समूह, सरुना लिम्बू उत्कृष्ट लोपोन्मुख भाका, बम बिरही कुलुङ राई उत्कृष्ट फरक समुदाय, निलिमा साम्पाङ उत्कृष्ट शब्द र कुमार विकले पब्लिक च्वाइस उपाधि जितेका छन् ।
उनीहरुले जनही दश हजार रुपैंयाँ प्राप्त गरेको आयोजक संस्थाका सदस्य सुनिल आङ्बोले बताए ।