धरान/ धरान उपमहानगरपालिका वडानम्बर १३ र २० जोड्ने ओशो पार्कछेउको पक्की पुल जोखिममा परेको छ ।

अविरल वर्षाले सर्दु खोलामा आएको बाढी एकोहोरिएर बग्दा पुलमुनिको जमिनमा झण्डै १५ फिट गहिरो खाडल बनेको छ । खाडल बढ्दै गएर पुल लड्ने सम्भावना बढेको भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

यसैवर्ष सो पुलको माथिल्लो क्षेत्रमा बीपी पार्क र रक गार्डेनको लागि सिमेण्ट लगाएर खोलाको दुुवै भागमा पर्खाल लगाइएको थियो । उपभोक्ता समूहको नाममा निर्माण भएको सो पर्खाल लगाउँदा खोलाभित्रकै ढुङ्गा चलाएपछि खोलाले कटान गरेको स्थानीय बताउँछन् ।

सो क्षेत्र सर्दु जलाधार क्षेत्रभित्र पर्ने भएकोले त्यहाँ हुने कुनै पनि निर्माण कार्य गर्नुभन्दा अघि विस्तृत अध्ययन अनुसन्धान गर्नुपर्ने प्राविधिकहरू बताउँछन् । तर यसैवर्ष करोडौं रुपैयाँ बढीको काम हुँदा पनि त्यहाँ कुनै वातावरण प्रभाव मूल्याङ्कन नगरी काम गरिएको छ ।

हाल फ्लावर ब्रिजको नामले प्रसिद्धि पाउँदै गरेको सो पुलमा सेल्फी खिच्न आउनेहरूको ठूलै भीड लाग्ने गरेको छ । खानेपानीको ५ वटा ठूल्ठूला फलामका पाइपहरू लानको लागि सो पुलको निर्माण गरिएको हो । सो क्षेत्रमा पार्क बनाउन थालिएपछि स्थानीयहरूले सो खोलाभित्र ढुङ्गा चलाउने, पानी छेक्ने, होटलहरू बनाउने काम गरेका छन् ।