यासोक/ अवैधानिक रूपमा खनिएका सडक र पूर्वाधार निर्माण कार्यका कारण पाँचथरको कुम्मायक गाउँपालिकामा पहिरोको जोखिम बढेको छ ।
अविरल वर्षासँगै आएको पहिरोका कारण बजार क्षेत्रका अधिकांश घरधुरी जोखिममा परेका छन् । बजारवासीले भौगोलिक वातावरणको अध्ययन नगरी घर निर्माण गर्नु, स्थानीय तहले स्काभेटर प्रयोग गरी विकास निर्माण गर्नु जस्ता कारणले पनि पहिरोको जोखिम बढेको हो । ‘स्थानीयवासी सस्तो घरघडेरीको लोभमा जोेखिम क्षेत्रमा बस्ने गरेका छन् । त्यसले गर्दा पनि कुन बेला विपत्तिको सामना गर्नुपर्ने हो, टुङ्गो छैन’ –स्थानीय खेम निरौलाले भने ।
वर्षासँगै आएको पहिरोले विद्युत्का पोलसमेत बगाएको छ । पहिरोले विद्युत्को पोल बगाउँदा जिल्लाको तुम्बेवा, फाल्गुनन्द र कुम्मायक गरी तीन गाउँपालिकाका हजारौं घरधुरी समस्यामा पर्दै आएका छन् । सडक विस्तार गर्दा क्षतिको मूल्याङ्कन नगरी काम हुँदा विद्युत्को आपूर्ति पनि नियमित हुन नसकेको निरौला बताउँछन् ।
पहिरोले गाउँपालिकाको निर्माणाधीन आवासीय भवन र यासोक स्वास्थ्य चौकीको भवन जोखिममा परेका कारण स्वास्थ्य चौकीमा काम गर्न समस्या भएको अहेव सेमिक लावती बताउँछन् । भिरालो जमिनमा निर्माण भएको भवन सडकको संरचना निर्माण भएसँगै जोखिममा परेको हो ।
त्यस्तै वर्षाको कारण ग्रामीण क्षेत्रका सडकदेखि स्थानीयवासीका घरहरूसमेत जोखिममा परेका छन् । पहिरोले यासोक बजारका ५ घरधुरी र ग्रामीण क्षेत्रका अन्य घरधुरीमा समेत क्षति पुगेको छ । सरकारले पहिलो पटक सुख्खाक्षेत्र घोषणा गरेको कुम्मायक गाउँपालिकामा दशवर्ष यताकै ठूलो वर्षा भएको छ । त्यसले स्थानीय सडकदेखि नागरिकका घरहरूसमेत जोखिममा परेका छन् ।
प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र जोखिम न्यूनीकरण गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउँपालिकाले विपद् व्यवस्थापन अन्तर्गत जोखिममा परेको यासोक स्वास्थ्य चौकी र आवासीय भवनको संरक्षणको लागि तत्कालै काम शुरु गरेको बताए । ‘अबका दिनमा गाउँपालिकाले कार्यविधि बनाएर यस्ता गतिविधिलाई सुधार गर्नेछ’ –अध्यक्ष चेम्जोङले बताए ।