यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रका पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् ।
अविरल वर्षाको कारण गाउँपालिका केन्द्रस्थित रानीगाउँ–४ मा पहिरो जाँदा पाँच घर जोखिममा परेका हुन् । बजार माथिबाट पहिरो खस्न थालेपछि स्थानीय प्रसादसिंह देवान र यादव लावतीको घर उच्च जोखिममा परेको हो ।
त्यस्तै अशोक सम्बाहाम्फे, चन्द्र र गीता सम्बाहाम्फेको घर पनि जोखिममा परेको छ । पहिरो प्रभावित घरधुरीलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।
पहिरो प्रभावित क्षेत्रमा बस्ती रहेकाले अन्य बजारवासीलाई पनि उच्च सावधानी अपनाउन निर्देशन दिएको गाउँपालिकाले जनाएको छ । प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी खटिँदै आएका छन् ।
त्यस्तै पहिरोकै कारण सोही स्थानमा यासोक–फिदिम ११ केभिए विद्युत् प्रसारण लाइन पनि अवरुद्ध भएको छ । पहिरोले विद्युत्को पोल ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको यासोक विद्युत् शाखा प्रमुख खेम निरौलाले जनाए ।
सुख्खा पहिरो गइरहेकाले विद्युत् सुचारु गर्न अझै केही दिन लाग्न सक्ने कार्यालयले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा फाल्गुनन्द, तुम्बेवा र कुम्मायक गाउँपालिकाका दुई हजार बढी घरधुरी मारमा परेका छन् ।