भद्रपुर/ आउँदो मङ्गलबारबाट झापाको मेची अस्पताल भद्रपुरमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण शुरु हुने भएको छ । झापाबाट निर्वाचित सङ्घ तथा प्रदेश सांसद्को पटक–पटकको पहल तथा अनुरोधमा मेसिन आएपछि परीक्षण शुरु हुने भएको हो । अस्पतालमा सञ्चालन गरिने ल्यावको पूर्वाधार सबै तयार भइसकेको छ ।
स्विस सरकारले उपलब्ध गराएकामध्ये एउटा मेसिन शुक्रबार झापा पठाइएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सांसद् वसन्त बानियाँले जानकारी दिए । साउन १२ गते जडान गरेलगत्तै सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । हस्तान्तरण भएको अत्याधुनिक मेसिन मेची अस्पतालमा आउने निर्णय भएको मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्वर ठाकुरले बताए ।
यसको दैनिक परीक्षण क्षमता ९० रहेको बताइए पनि मेसिनको क्याटलग हेरेर मात्र थाहा हुने उनले जनाए । ल्यावमा काम गर्ने चिकित्सकसहित तीन जना कर्मचारीलाई एक हप्ता तालिमको लागि कोशी अस्पताल पठाइसकिएको उनले जानकारी दिए । पूर्वाधार तयार भइसकेकोले मेसिन आएसँगै तत्काल सञ्चालनमा ल्याइने उनले बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरसमेत सहभागी भई स्विजरल्याण्ड सरकारका प्रतिनिधि अमन गोन्छेबाट प्रदेश सरकारलाई पीसीआर मेसिन शुक्रबार नै हस्तान्तरण भएको थियो ।
मेची अस्पतालमा ल्याव सञ्चालन गर्न प्रदेश सरकारसमक्ष सांसद्हरूले ध्यानाकर्षण गराउँदै आएका थिए । त्यसलगत्तै सामाजिक विकास मन्त्रीसहित प्राविधिक र चिकित्सकको टोलीले मेची अस्पतालमा ल्याव रहने स्थानको भौतिक पूर्वाधारबारे जानकारी लिई स्थानीयसँग छलफल गरेका थिए ।
झापा प्रदेश १ मै सबैभन्दा धेरै सङ्क्रमित फेला परेको जिल्ला हो । शुक्रबारका २५ जना समेत गरी हालसम्म ३ सय ४५ सङ्क्रमित, ३ सय निको भएर घर फर्किसकेका र ४५ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।